मिडिया माथि साम्राज्ञीको आक्रोश

Posted on: July 01, 2020

असार, काठमाडौं । नेपाली चलचित्रकी लोकप्रिय नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले पछिल्लो केहिदिन यता नेपाली चलचित्रका केहि ब्यानरका निर्माताहरुले गरेको अभद्र ब्यवहार बारे बोल्दै आउनु भएको छ । पाँचबर्ष भित्र गरेका आठ चलचित्रका नराम्रा गतिबिधिको बिषयमा सामाजिक सञ्जालमार्फत साम्राज्ञीले आक्रोश पोख्दै आउनु भएको छ । केहिदिन अघि चलचित्र निर्माता तथा अभिनेता भूवन केसीसँग सामाजिक सञ्जालमा ‘वार’नै चलेको छ ।

उहाँले आफूले काम गरेको चलचित्रको छायांकनको समयलाई सम्झिदै भन्नुभएको छ,  ‘फिल्मको सुटिङ सेटमा खाना र पानीको व्यवस्था उपलब्ध गराउन आग्रह गर्दा कति निर्माता निर्देशकहरु आक्रमण शैलीमा आउँथे । उनीहरुको व्यहारबाट धेरै बेर रुन्थेँ अनि केही नभएजस्तो गरेर फेरि सुटिङ गर्थेँ । किनकि, मलाई कामसँग प्रेम छ । कामको सम्मान गर्नुपर्छ भन्ने मैले बुझेको छु । म आफूले सकेको शतप्रतिशत काम दिने प्रयास गर्छु ।’ आफूले काम गरेका तीन ब्यानरमा पुनः नदोहोरिनुको कारण ती ब्यानरका व्यक्तिहरुको गलत व्यवहार रहेको पनि उहाँले बताउनु भएको छ ।  

यस्तै फेरी पनि साम्राज्ञीले आफ्नो सामाजिक सञ्जालमार्फत अर्को भिडियो सेयर गर्दै मिडियामाथि आक्रोश पोख्नु भएको छ । मिडियाले आफूले पैसा कमाउनका लागी कलाकारलाई प्रयोग गरेको आरोप लगाउनु भएको छ । उहाँले बिशेषगरी अनलाइन मिडिया र युट्युवमा गरिने अन्तर्वार्ता केवल युट्युवर्सका लागी मात्र फाइदा भएको र आफूले राख्न खोजेका कुरा बाहिर नआउने प्रतिक्रिया दिनु भएको छ । उहाँले भन्नु भएको छ, ‘मैले आज बोल्नै पर्ने छ । मलाई थाहा त कत्ति कलाकारले यो कुरा बोल्न खोजिरहनु भएको छ । पछिल्लो केहिदिन यता मलाई धेरै मिडियाबाट अन्तर्वाताका लागी फोन आइरहेका छन् तर मैले अन्तर्वाता नदिने निर्णय गरेकी छु । किनकी अनलाइन मिडियामा बिशेषगरी हाम्रो भन्दा पनि आफ्नो फाइदाका लागी हेडलाइन राख्ने गरिन्छ ।’

साम्राज्ञीले युट्युवमा अन्तर्वाता पहिल्यै देखि नदिने निर्णय गरेको तर चलचित्र निर्माता तथा निर्देशकहरुको दबाबमा आफूले बाध्यभएर अन्तर्वाता दिएको प्रतिक्रिया समेत दिनुभएको छ । 

साम्राज्ञीले सेयर गरेको भिडियोमा हाँस्दै हामीलाई पनि पैसा देऊ समेत भन्नुभएको छ । ‘युट्युवमा हामीलाई प्रयोग गरेर पैसा कमाउछन्, त्यत्रो पैसा कमाउँछौं, हामीलाई पनि पैसा देऊ ।’ उहाँले भन्नुभएको छ । ‘युट्युवमा राखिने कतिपय भिडियोमा आउने कमेन्ट गालिगलौज हुन्छ । यदि कलाकारलाई सम्मान गर्नुहुन्छ भने त्यो कमेन्ट सेक्सन हाइड गर्नसक्नुहुन्थ्यो नि ।’ उहाँले अनलाइन मिडियामा समाचार लेख्नेलाई पनि दोष दिनुभएको छ । साम्राज्ञीले अभिनय गरेका चलचित्र ‘ड्रिम्स, ए मेरो हजुर २, मंगलम, तिमी सँग, कायरा, इन्टुमिन्टु लण्डनमा, मारुनी र रातो टिका निधारमा’ रहेका छन् । यी मध्ये अधिकांश चलचित्र सफल मानिएका छन् ।


(समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ)



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]