भोकालाई खाना खुँवाउदै बेनिशा

Posted on: September 08, 2020
भदौ, काठमाडौं । 

नेपालमा कोरोना माहामारीले ठुलो रुप लिँदै गर्दा बिभिन्न ब्यक्ति, संघसंस्थाले बिभिन्न बिपन्न परिवारलाई सहयोग गरिरहेका छन् । यस्तै बिभिन्न कलाकारहरुले पनि सहयोग जुटाइरहनु भएको छ र हस्तान्तरण पनि भइरहेको छ ।

आर्थिक अवस्था बलियो हुनेलाई बन्दाबन्दीले खासै ठूलो असर पारेको छैन । तर, दैनिक श्रम गरेर खानुपर्ने श्रमिकहरुलाई अहिले रोगभन्दा ठूलो चिन्ता भोकको छ । पहिलो चरणको लकडाउनमा नै राजधानीमा बस्ने अधिकांश श्रमिकको कोठामा रासन पानी सकिएको छ । निषेधाज्ञाका कारण चुलो बल्न छाडेपछि आजभोली हजारौं भोका पेटहरु भोक मेट्न रत्नपार्क पुग्ने गरेका छन् । 

बिहान बेलुका हातमुख जोर्न समस्या भएर भोक मेट्न पुगेकाहरुलाई अहिले विभिन्न संघ संस्थाहरुले रत्नपार्क क्षेत्रमा खाना बाँड्ने गरेका छन् । यो कार्यमा नेपाली कलाकारहरुले पनि साथ दिन लागेको देखिन्छ । केही दिनअघि अभिनेता पल शाहले रत्नपार्क पुगेर भोका पेटहरुलाई आफैंले खाना बाँड्नु भएको थियो । यस्तै सोमवारबाट अभिनेत्री बेनिशा हमालले पनि खाना बाँड्न सहयोग गर्नुभएको छ । 

रोयल कोल्याबोरेटिम्ससँगको सहकार्यमा उहाँले सोमवार रत्नपार्कमा भोकाहरुलाई खाना बाँड्नु भएको हो । फेसबुकमा यो कुरा उल्लेख गर्दै उहाँले भोली पनि आफू सहभागी हुने बताउनु भयो, ‘बाँडेर खानेको पेट कहिले पनि खाली हुँदैन ।’ रोजगारी गुमेर बिहान बेलुका हातमुख जोर्न समस्या हुने १५ सय मजदूरलाई रोयल कोल्याबोरेटिम्सले दैनिक खाना खुवाउँदै आएको छ । 







Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]