पोखरामा रिमझिम साँझमा 'रोज'को भब्य कन्सर्ट, घेरिए प्रदीप

Posted on: August 31, 2018
आर्टिष्ट खबर/ भदौ, पोखरा । 

यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘रोज’ टिमले पोखरा कन्सर्ट सँगै मोफसल प्रमोशनल टुर सुरु गरेको छ । बिहिबार साँझ पोखराको ‘मिड टाउन’हल अगाडी करिब तीन घण्टा चलेको कन्सर्टमा चलचित्रमा मुख्य कलाकारहरु नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणाले दर्शकसँग प्रत्यक्ष भेटेर चलचित्रको बारेमा जानकारी गराए । यस्तै चलचित्रको गीतमा स्वर भरेका गायक प्रताप दास र हाँस्य कलाकार दिनेश काफ्लेको पनि दर्शकलाई धेरैबेर मनोरञ्जन दिए । गायिका प्रज्ञा श्रेष्ठको गीतमा पनि दर्शक झुमेका थिए । सन्ध्या केसी र दिनेशले कार्यक्रम सञ्चालन गरेका थिए ।


जब नायक प्रदीप स्टेज चढे युवा दर्शकले प्रदीपको नाम लिँदै हुटिङ गरेका थिए । प्रदीपले ‘रोज’ चलचित्रको बारेमा सोधेका प्रश्नका एकएक गर्दै सहि उत्तर दिने फ्यान थुप्रै थिए । प्रदीपले चलचित्रको प्रदर्शन मिति, गीत तथा कलाकारहरुबारे प्रश्न गरेका थिए । प्रदीपले स्टेजबाटै मोबाइल मार्फत सेल्फि तस्बिर पनि लिए । जुनसमयमा प्रदीपलाई फ्यानहरुबाट जोगाउनै चलचित्र टिमलाई हम्मे हम्मे परेको थियो । जब प्रदीप स्टेजबाट ओर्लेर फ्यानकै मोबाइलबाट सेल्फि लिन थाले, त्यो भिडबाट बाहिर निकाल्नै आधाघण्टा भन्दा बढी लागेको थियो । प्रदीपसँगै नायिका मिरुना र परमितापनि फ्यानबाट उत्तिकै घेरिएका थिए । कन्सर्टमा केहि फ्यानहरुलाई चलचित्रको नामको टिसर्ट बाडिएको थियो ।


क्याम्पसमा रोज टिम

जया मल्टिपल क्याम्पसमा चलचित्र टिम पुग्दा बिद्यार्थीहरु निकै उत्साहित देखिन्थे । स्वतन्त्र बिद्यार्थी युनियनको सहयोगमा दिउँसो राखिएको  छोटो कार्यक्रममा प्रदीपले चलचित्र बारे जानकारी दिए । ‘बिद्यार्थीहरुलाई हामीले पढाई छाडेर हेर्न जानुस् भनेका छैनौं, बिदाको दिन जान आग्रह गरेका छौं’ प्रदीपले भने । गायक प्रताप दासले चलचित्रको ‘फूल हैन’बोलको गीत गाएका थिए भने हाँस्य कलाकार दिनेश काफ्लेले पनि बिभिन्न हाँस्य सम्वादले मनोरञ्जन दिएका थिए । क्याम्पस प्रांगणमै नायक प्रदीप र नायिका मिरुनाले चलचित्रभित्रको छोटो अभिनय पनि गरेर देखाएका थिए ।


चलचित्र टिम शुक्रबार बुटवल पुगेको छ । बुटवल कन्सर्ट गरेर टिम चितवन पुग्नेछ । यस्तै त्यसपछि पुर्वका बिभिन्न शहर पुग्ने कन्सर्ट ब्यवस्थापक बुद्धि मगरले जानकारी दिए ।  निरक पौडेलले निर्देशन गरेको यो चलचित्रमा प्रदीपको प्रेमी तथा अपराधीको लुक्स देख्न सकिन्छ । चलचित्रको ट्रेलर तथा गीत युट्युव तथा सामाजिक सञ्जालहरुमा अहिले हिट छन् । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्रमा आयरा पौडेल र आरोही केसीको लगानी छ । राजु विक्रम थापाले खिचेको चलचित्रको केदार भुषालले कथा लेखेका हुन् । चलचित्रको सम्पादन भने मित्र डि गुरुङले गरेका हुन् । अर्जुन पोखरेलको संगीत रहेको ‘चलचित्रमा कबिराज गहतराज र रिशब टोट्लानीको कोरियोग्राफी छ ।  





Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]