करिअर बनाउनका लागी धेरै भिडियो फ्रि मै गरेँः शंकर बिसी

Posted on: April 28, 2017
बैशाख, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रमा धेरै नाच्ने मोडलमा पर्छन् शंकर बिसी । उनले अहिलेसम्म हजारौं म्युजीक भिडियोमा मोडलिङ गरिसकेका छन् भने पछिल्लो समय निर्देशनमा पनि उत्तिकै ब्यस्त छन् । बिशेषतः नेपाली लोक तथा दोहोरी गीतहरुमा मोडलिङ गर्ने शंकर दैनिकजसो म्युजीक भिडियो छायांकनमै ब्यस्त हुन्छन् । यसैबिच मोडल शंकर बिसीले आफ्नो मोडलिङ क्षेत्र र ब्यक्तिगत कुराहरुसँग सम्बन्धित केहि प्रश्नहरुमा यसरी उत्तर दिन्छन् । 


देशबिदेश चर्चित नाम शंकर बिसीको न्वारनको नाम पनि यहि होकि ? 

होइन होइन...मेरो पछि राखेको नाम हो शंकर बिसी । मेरो न्वारनको नाम जित बिसी हो । पछि मामाले भान्जा भगवानको रुप जस्तो लाग्यो भनेर भगवानकै नाम राख्नुपर्छ भनेर शंकर नाम राखिदिनु भएको हो रे । 


सुरुवातका दिनहरु सम्झिउँन, यो नाच्ने कलामा कहिले देखी प्रवेश गर्नुभो ? 

म निकै सानो हुँदा देखी नै नाच्न सुरु गरेको हुँ । म कक्षा १ मा पढ्दा नै नाच्ने गर्थेँ । अहिलेपनि सम्झिन्छु कि कक्षा १ मा पढ्दा नाचेर मैले सान्तवना पुरस्कार पाएको थिए । त्यसपछि कक्षा २ बाट चाहि प्रतिस्पर्धाको तरिकाबाटै नाच्दै आएँ । त्यसपछि गाउँघरमा हुने बिहे, पुजाहरुमा नाच्दै आएको थिए । 


पहिलो म्युजीक भिडियोमा मोडलिङ गरेबापत पैसा पाउनु भयो कि नाई ?

मैले पहिलोमात्र हैन धेरै समयसम्म पैसा नपाई मोडलिङ गरेको छु । म सानैदेखी यो नृत्यकलामा इच्छुक भएको मान्छे मलाई यो क्षेत्रमा केहि गर्नुपर्छ भन्ने लागेको थियो । त्यसैले पनि पहिले मैले पैसाको डिमाण्ड भन्दा पनि आफ्नो करियर बनाउन पर्छ भन्ने लाग्यो । मलाई पहिलो पटक म्युजीक भिडियो बनाउनेले नै अफर गर्नुभएको हो । अलिपछि भिडियोमा नाच्दाखेरी पाँचशय रुपैया कमाएको थिए । म्युजीक भिडियोको पहिलो कमाई नै त्यहि थियो ।


यो क्षेत्रमा लागेपछि प्रेमप्रस्ताव धेरै आउछ भन्छन् नि, कत्तिको आउँछन् तपाईलाई ? 

अब यो क्षेत्रमा लागेपछि धेरै ठाउँमा धेरैसँग घुलमिल हुनुपर्छ, त्यसले गर्दा पनि प्रेमप्रस्ताव आउनु स्वभाविक नै हो । मलाई पनि धेरै नै आउछन् प्रेमप्रस्ताव त । कोहि बिहे नै गरम भन्दै आउछन् । कसैले फोन मार्फत गर्छन । कसैले चिठि लेखेर दिन्छन् । जे हो धेरै फ्यानले माया गर्नुहुन्छ खुसी लाग्छ ।


धेरै म्युजीक भिडियोमा मोडलिङ गरिसकेपछि निर्देशनतिर पनि लाग्नुभो, पहिलो पटक निर्देशन गरेको भिडियो कुन थियो ?

मेरो पहिलो निर्देशन भिडियो ‘ए शहरकी परि’ बोलको गीत हो । जुन गीतलाई आरजे सिंहले गाउनु भएको थियो  । त्यस्तै चलचित्रको गीतको कुरा गर्दा चाँही ‘फष्ट लभ’मा समावेश गीत थियो ।


तपाई त गीत गाउनुपनि हुन्छ, कतिवटा गीत गाउनुभो अहिलेसम्म ? 

हजुर... मैले फुर्सदको समयमा गीत गाउने पनि गरेको छु । अहिलेसम्म गाएका गीतहरुलाई दर्शकले मन पराइदिनुभएको छ । पहिलो पटक एकनारायण भण्डारीको शब्दमा रहेको  ‘तिमी बिना मछु कसम’ बोलको गीत गाएको थिएँ । त्यो गीतमा पनि दर्शक तथा स्रोताले धेरै राम्रो प्रतिक्रिया दिनुभएको थियो । त्यस्तै पछि नायिका रेखाथापा सँग गाएको थिए जुन गीतमा रमेशराज भट्टराईको संगीत रहेको छ । अहिलेसम्म पाँचवटा गीत गाएको छु र अब दुईवटा गीत रेकर्ड पनि गरिसकेको छु छिट्टै भिडियो सार्वजनिक गर्ने तयारीमा छु ।


यो सामाग्री हिमालय टाईम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]