'लोकदोहोरी बिगार्यो भन्ने आरोप लाग्यो'- रामजी खाँड

Posted on: September 10, 2017
गोपिकृष्ण चापाँगाई/भदौ,काठमाडौं। 

नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा लगभग दुई दशक देखी निरन्तर लागिरहेका गायक रामजी खाँड पछिल्लो समयका निकै ब्यस्त गायकको रुपमा चिनिन्छन् । बि.स. २०५६ सालबाट सांगितीक यात्रा शुरु गरेका रामजीले ‘वालिङ बजार’ बोलको गीतबाट आफ्नो गायन यात्रा अगाडि बढाएका थिए । पहिलो गीतमा शर्मिला गुरुङ र शिला आलेसँग स्वर दिएका रामजीले अहिलेसँम्म दर्जनौं गायिकासँग गीत गाइसकेका छन् । उनले अहिलेसम्म ७ हजार गीत गाइसकेका छन् भने सयभन्दा बढी गीतमा एरेन्ज र दर्जनौं गीतमा लय तथा शब्द पनि भरेका छन् । 

बिद्यालयमा अध्ययन गर्दा देखीनै गायनक्षेत्रमा निकै रुचि राख्ने रामजीले जन्मजिल्ला स्याङजा मा हुने धेरै कार्यक्रमहरुमा भाग लिएर बिजेता पनि बन्ने गर्दथे । साथै उनले  जिल्लास्तरिय कार्यक्रमबाट धेरै पटक पुरस्कृत भएको पनि सम्झना गराए । यसैबिच उनै रामजीसँग हिमालय टाइम्सले उनका गीत संगीतको संघर्षको बेला र सफलताको बारेमा प्रश्नोत्तर गरेको छ ।

तपाईलाई दर्शकमाझ रामजी भनेर चिनाउने गीतको नाम लिनु पर्दा कुन गीतलाई लिनु हुन्छ ?

मैले गीत गाउँन शुरु गरेको करिब १० बर्ष भइसकेको थियो तर मेरो कुनैपनि गीत त्यस्तो सबै दर्शकले सुन्नेमा परेनन् अर्थात चर्चित हुन सकेनन् । आज भन्दा करिब आठबर्ष अघिको कुरा हो । मलाई चिनाउने गीतको नाम लिनुपर्दा ‘देउरालीको भट्टी पसल’ जसमा देवी घर्तिसँग मैले गाएको थिए र शिबहमालको शब्द रहेको थियो । यो गीतलाई म कहिल्यै भुल्न सक्दिन त्यस्तै ‘पछ्यौरी लेऊ बैना’ ले पनि मलाई ठुलो सफलता दियो । यी दुई गीत जब बजारमा आए दर्शकले यतिधेरै मन पराइदिनुभयो कि सायद यी गीत नसुन्ने कुनै दर्शक हुनुहुन्न होला । 

आजभन्दा करिब एकदशकको अघिको कुरा गर्नुभयो । त्यो बेला त सिडी, डिभिडि पनि बिक्थे होला नि ? 

हजुर अहिलेजस्तो इन्टरनेटको पहुँच निकै कम थियो र सबैको हात हातमा यसरी मोबाइल र इन्टरनेट थिएन त्यसले गर्दा पनि गीतको सिडी, डिभिडि धेरै बिक्रि हुन्थ्यो । त्यो बेलामा मलाई ति गीतले निकै ठुलो सहयोग पु¥यायो । ति गीत चर्चित हुनुपुर्व मैले गीतसंगीतको क्षेत्रमा धेरै लगानी गरीसकेको थिएँ । नाफा भन्ने केहि थिएन । तर ति गीतले मलाई निकै खुसी बनायो र ठुलो हौसला पनि दियो ।

सफलता पछि अगाडिका दुखको बेला जो तपाईलाई साथ दिएका थिएनन् उनीहरुको प्रतिक्रिया कस्तो पाउनुहुन्थ्यो ? 

मैले ति दुई गीत भन्दा अघि गीत नगाएको होइन । दर्जनौं गीत गाइसकेको थिएँ तर कुनै पनि गीत त्यसरी चर्चित नहुदा सबैतिरबाट पछिपरेजस्तो हुँदो रहेछ । मलाई शुरुवातका दिनहरुमा गीत रेकर्ड गर्न समेत अप्ठ्यारो परेको थियो । रेकडिर्ङ स्टुडियोले रेकर्ड गर्नै मान्थिेनन् । चर्चित गायकको मात्र सिडी बिक्छ भनेर हामीलाई कुनै स्थान नै हुन्थेन । हारगुहार गर्दा पनि निकै मुस्किल पथ्र्यौ । कतिपटक त मैले आफुले गाउने भनेको गीत पनि त्यो बेलाका चर्चित अग्रह दाजु राजु परियारलाई गाउन दिएका थिए । यदि राजु परियारले गाउदैनन् भने गीत रेकर्ड हुँदैन समेत भनिन्थ्यो । त्यसैले आफ्नो गीत अरुलाई दिन बाध्य हुनुपथ्र्यो ।

अहिले ति ब्यक्ति जो मलाई दुख पर्दा दुख मै छोडेका थिए उनीहरुबाट राम्रो गर्नुभएको छ भन्ने प्रतिक्रिया मात्र आउछ । र उनीहरु नै अहिले हाम्रोमा रेकर्ड गर्नुस् भन्ने पनि आउछन् । मेहनतको फल मिठो हुन्छ भन्ने बुझेरै मैले निरन्तर मेहनत गरेको थिएँ त्यसैले पनि अहिले त्यो फल मिलेको हो जस्तो लाग्छ ।


एकसमय गायनक्षेत्रबाट हैरान भएर बिदेश जान पनि लाग्नुभएको थियो रे नि ? 

हो... । मैले करिब सात÷आठ बर्षसम्म निरन्तर गीतसंगीतको क्षेत्रमा काम गरिरहदा पनि कुनै सफलता पाउन नसकेपछि हार खानुपरेको थियो । बिशेषतः मलाई घरबाट प्रेसर पनि आयो । किनकी म सँगै पढेका कोहि साथीहरु लाउरे भएर, कोहि साथीभाईहरुले गाउँमा बिदेश गएर पैसा कमाएर घर बनाइसकेका थिए तर मेरो भने केहि प्रगती थिएन त्यसकारण पनि घरबाट बढी प्रेसर आउथ्यो र अन्तमा बिदेश जाने निर्णय गरेको थिएँ । मैले दुबईका लागी भिषाको काम पनि अगाडि बढाएको थिएँ । त्यहि बेलामा ‘देउरालीको भट्टी पसल’ र ‘पछ्यौरी लेऊ बैना’ गीत यतिधेरै चर्चित भयो कि मलाई सबैतिरबाट वाह वाह मात्र आउथ्यो त्यसपछि मैले नै आईसकेको दुबईको भिषा पनि रोकेर गीतसंगीतमै रमाउन थालेको हुँ । त्यसपछि मलाई निरन्तर गीतको काम आउन थाल्यो । 

अहिलेसम्मको कुरा गर्दा सांगितीक यात्राकै लागी बिदेश भ्रमण कति देशमा गर्नुभयो र पहिलो बिदेश भ्रमण कुन थियो ? 

सांगितीक कार्यक्रमकै लागी भनेर अहिलेसम्म करिब ३० देशको भ्रमण गरिसकेको छु । जहाँसम्म लाग्छ नेपालीहरु हुनुभयो सबैदेशमा गइसकेको छु । त्यस्तै पहिलो बिदेश भ्रमणको कुरा गर्दा हङकङबाट बिदेशको यात्रा शुरु भएको हो ।

अहिलेसम्म मासिक आम्दानी बढीमा कति गर्नुभएको छ ?

हामी कलाकारहरुको आम्दानी यति नै हुन्छ भन्ने त हुँदैन, सिजन अनुसार आम्दानी पनि फरक–फरक हुन्छ । मैले आफु बजारमा केहि चर्चित हुनथालेपछि एक गीत रेकर्ड गरेको ५ हजार लिने गर्थेँ र कहिले काँही दिनमै ९ वटा गीतसम्म पनि रेकर्ड भएको छ । त्यस्तै सिजनमा सबैभन्दा धेरै आम्दानी भएको बिदेश भ्रमणबाट अलि धेरै हुनेहो । एकपटक युके को एकमहिने सांगितीक यात्रामा १२ लाख सम्म आम्दानी भएको थियो । तर नेपालमै पनि सिजनको बेला १४ देखी १५ लाखसम्म आम्दानी हुन्छ ।

गायनमा यति धेरै नाम कमाउदा पनि मोडलिङमा पनि लाग्नु भएको छ नि, पैसाकै लागी कि सौख ? 

मैले गाएका थुप्रै गीतमा अन्य मोडलहरुको अभिनय छ तर पछिल्लो समय मैलो गाएका केहि गीतहरुमा आफैले मोडलिङ गरेको छ । मैले पैसाको लागी यसरी मोडलिङ भने गरेको होइन र सौख भनेर त्यस्तो भिडियो गर्नै पाए हुन्थ्यो भन्ने लाग्दैन तर एक दुईवटा भिडियोमा देखिदा दर्शकले मन पराइदिनुभयो र धेरै साथीहरुले राम्रो हुन्छ आफै भिडियो गर्नुस् भनेपछि गर्न थालेको हुँ । अहिले त अन्य साथीहरुले गाएको गीतमा पनि मलाई भिडियोका लागी अफर गर्नुहुन्छ । करिब ५० वटा अन्य गायकले गाउनु भएको गीतमा मोडलिङ पनि गरेको छु । दर्शकले मन पराउनु भएको कारण मात्र मैले भिडियो गरेको हुँ कुनै अन्य कारण छैन । 

तपाईले गाएका गीतहरु तपाईको ‘नेचुरल भ्वाइस’ भन्दा पनि अर्कै बनाएर फाइनल गरिन्छ भन्ने सुनिन्छ नि यो कुरा के हो ? 

लोकदोहोरीको क्षेत्रमा पनि पछिल्लो समय धेरै परिवर्तन आइरहेको छ । हुन त लोकदोहोरीको आफ्नौ मौलिकपन छ तर प्रबिधिसँगै केहि परिवर्तन पनि हुँदै गएको छ । यसैक्रममा मैले गाउनेसमयमा पनि प्रविधिको परिवर्तन सँगे स्वरलाई थोरै परिवर्तन गर्दा मिठास आउने प्रविधि आयो । यस्तो प्रविधि सबैको स्वरमा ‘म्याच’ हुँदैन, मेरो मा भयो त्यसैले त्यसलाई शुरुवातका केहि गीतहरुमा ‘फ्लो’ गरेको हुँ । सबैगीतमा त्यस्तो भने छैन ।

तपाईले गाउने लोकगीतहरु मौलिक लोकगीत भन्दा बाहिरका हुन्छन् नि, लोक दोहोरी बिगार्यो भन्ने आरोप पनि छ नि ? 

मैले नै लोकदोहोरीको क्षेत्रमा केहि परिवर्तन ल्याएको हुँ । परिवर्तन भनेर नेपाली मौलिकता लाई बिर्सेको छैन तर एक्कासी केहि परिवर्तन ल्याउदा सबैलाई अनौठो लाग्छ । त्यसैले पनि  मलाई लोकदोहोरी बिगार्यो भन्ने आरोप पनि लागेको थियो । कुनैबेला तालि भन्दा गालि बढी पनि आएको थियो तर मैले गाउने गीतमा लोकपन भने छुटेको हुँदैन । 

अन्तमा, लोकदोहोरीमा पनि सेन्सर हुनुपर्छ भन्ने आवाज उठिरहेको छ नि, तपाई के भन्नुहुन्छ ? 

यो कुरा एकदम आवश्यक छ । चलचित्र क्षेत्रमा सेन्सर बोर्ड भएजस्तै लोकदोहोरीको क्षेत्रमा पनि सेन्सर बोर्ड हुनुआवश्यक छ । पछिल्लो समय परिवारसँग बसेर हेर्नै नमिल्ने गीतहरु बजारमा आएका छन्, तर हामी केहि गर्न सक्दैनौं । लोकदोहोरी प्रतिष्ठान त छ तर यस्तो नगर मात्र भन्न सक्छौं सिधै कारबाही गर्ने अधिकारी हुँदैन त्यसैले सरकारी मातहतबाट सेन्सर बोर्डको स्थापना भए लोक दोहोरी क्षेत्र बिग्रन पाउने थिएन । सेन्सर बोर्डको जिम्मा सरकारले प्रतिष्ठानलाई जिम्मा मात्र दिएपनि पुग्छ ।

यो समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा प्रकाशित छ। 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]