आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
नेपाली चलचित्र क्षेत्रमा कालि बुढीको उपनाम बाट चिनिएकी कलाकार सारदा गिरी काठमाडौंकै बासिन्दा हुन् । काठमाडौंको कलंकीमा घर भएकी सारदा तीनदशक अघि झुक्किएरै फिल्मीक्षेत्रमा प्रवेश गरिन् । तीसबर्ष अघिनै श्रीमानको मृत्यु भएको बताउने सारदाले जीन्दगीसँग हार नमानी सन्तान हुकाउँदै कलाकारितालाई अगाडी बढाएको बताउँछिन्। तीनदशक अघिदेखीनै चलचित्रमा अभिनय गर्न थालेकी सारदाले जब चलचित्र ‘वडा नम्बर’मा माग्ने बुढाकी आमाको रुपमा देखिइन् त्यसपछि धेरै दर्शकले चिन्ने मौका पाए । अझ त्यसपछि ‘छक्का पञ्जा’ चलचित्रको सिरिजमा देखिन थालेपछि तीनकरोड नेपालीकै आमा भएर माया पाएको उनी बताउँछिन्। अहिले उनलाई दर्शकले कालि बुढी भनेर चिन्छन् । चलचित्रमा केदार घिमिरे (माग्नेबुढा)ले कालि बुढी भनेर सम्वोधन गर्ने भएकाले उनको उपनाम नै कालि बुढी भएको छ । उनले आफूलाई दर्शकले मायाले कालि बुढी भन्दा खुसी लाग्ने बताएकी छिन्। यसैबिच उनीसँग पत्रकार गोपिकृष्ण चापागाईंले फिल्मी कुराकानी गरेका छन् ।
तपाईलाई कालि बुढी भनेरै चिन्छन्, मन दुख्दैन ?
यो नाम माग्नेबुढा अर्थात केदार घिमिरेले चलचित्र वडा नम्बर ६ बाट राखिदिनुभएको नाम हो । उहाले तपाईलाई कालि बुढी भन्छु है भन्नुभएको थियो, मैले हुन्छ भने । त्यसपछि सबैले मलाई कालिबुढी भनेरै बोलाउन थाले । दर्शकले पनि त्यहि नामबाट चिन्न थाल्नुभयो । लाखौं दर्शकले मायाले कालि बुढी भनेर माया गर्नुहुन्छ भने किन मन दुखाउनु ? मलाई त खुसी लाग्छ ।
अहिले चलचित्रमा कत्तिको ब्यस्त हुनुहुन्छ ?
जब म छक्का पञ्जा चलचित्रको टिम अर्थात दिपकराज गिरी दिपाश्री निरौला लगायतको टिमसँग सहकार्य गर्न पाएँ। त्यसपछि मलाई धेरै चलचित्रमा अफर आउने गरेका छन्। खुसी लाग्छ। छक्का पञ्जा टिमलाई धेरै धन्यवाद पनि दिन चाहान्छु। उहाँकै कारण आज यहासम्म छु । अहिले भने केहि दिन भयो चलचित्र ‘अधुरो प्रेम कहानी’को सुटिङमा ब्यस्त छु।
आफूलाई चिनाउने चलचित्र कुन मान्नु हुन्छ ?
आफूले काम गरेका सबैजसो चलचित्र राम्रो छन् तर दर्शकले बढी चिनेको र फड्को मारेको भन्नुपर्दा छक्का पञ्जा नै हो । त्यो भन्दा अघिको वडा नम्बर ६ बाट केहि मात्रामा चिनिएता पनि छक्का पञ्जाबाट अत्यधिक दर्शकले चिन्नुभयो । यो चलचित्रले मेरो पहिचान बनाइदियो।
फिल्मीक्षेत्रबाट कुनै मन दुखेको क्षण छ ?
सबै दर्शकले माया गर्नुहुन्छ त्यो नै मेरोलागी सबैभन्दा ठुलो कुरा हो । तर फिल्मीक्षेत्रमा काम गर्नेहरुको मुल्यांकन गर्दै धेरै अवार्ड आयोजना हुने गर्छन् । अहिलेसम्म मलाई एउटा पनि अवार्ड मिलेको छैन । मेलो योग्यता नपुगेको हो भने त मुल्यांकन होस् तर अवार्ड पनि बिक्ने गर्छ रे भन्ने सुनेको छु । सायद त्यहि कारणले नपाएको होकि ? छक्का पञ्जा चलचित्र निकै हिट भयो सबैजसो कलाकारहरुले अवार्ड पाउनुभयो तर मैलो पाउन सकिन । त्यसैले मनमा लागेको कुरा राखेकी हुँ।
घरपरिवारमा फिल्मीक्षेत्रमा काम गर्न कत्तिको साथ दिनुहुन्छ ?
अहिले घरमा छोरा बुहारी, छोरी सबैले साथ दिएका छन्। घर ब्यवहार मैले हेर्नुपर्दैन । म दिनहुँजसो सुटिङमै ब्यस्त हुन्छ । छोरा छोरीले फिल्ममा काम गर्नुस् भन्छन् यहि नै खुसीको कुरा हो । कतिपय कलाकारहरुको समाचारहरु सुनिन्छ घरबाट सपोर्ट मिलेन भन्ने तर मेरो पहिला देखीनै घरमा सबैले सपोर्ट गर्नुहुन्छ।
साभार:हिमालय टाइम्स दैनिक
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: