दौडधुपमा प्रदीप–पूजा

Posted on: September 09, 2018
गोपिकृष्ण चापागाईं/ भदौ, काठमाडौं । 

गएको शुक्रबारबाट आएका दुई चलचित्र ‘रोज’ र ‘रामकहानी’को टिम प्रदर्शनहुनु एक महिना अघिनै दौडधुपमा छन् । दुबै चलचित्रको निर्माण टिम र कलाकारहरु चलचित्रको प्रदर्शन पछि अझ बढी दौडधुपमा देखिएका छन् । आ–आफ्नो चलचित्रमा दर्शक तान्नका लागी चलचित्रका मुख्य कलाकार शुक्रबार र शनिबार बिहानै देखी हलहलमा पुगेका थिए । ‘रोज’का मुख्य कलाकार नायक प्रदीप खड्का र नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा शुक्रबार र शनिबार राजधानीका बिभिन्न हलहरुमा दर्शकको प्रत्यक्ष प्रतिक्रिया बुझ्न पुगेका थिए । दुई नायिका भन्दा प्रदीप अझ बढी खटिएको देखिन्छ । आफ्नो चलचित्रको प्रमोशनका लागी प्रदीप आफैले निकै मेहनत गर्छन् भन्ने सुन्दै आएकाहरुका लागी धेरैले प्रत्यक्षा देखिरहेका पनि छन् । यस्तै ‘रामकहानी’का मुख्य कलाकारहरु नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, हाँस्य कलाकार केदार घिमिरे, जितु नेपाल तथा निर्देशक सुदर्शन थापा पनि हलहलमा पुगेर प्रतिक्रिया बुझिरहेका छन् । नायिका पूजाले बिभिन्न मिडियाका माइक आफैले समात्दै हलमा पुगेका प्रत्यक्ष दर्शकलाई आफैले प्रश्न गरिरहेकी छिन् ।

चलचित्र ‘रोज’मा शुक्रबार भन्दा शनिबार निकै दर्शक ओइरिए । मुलुकका करिब ८ दर्जन हलमा दर्शकको संख्या राम्रो भएको रिपोर्ट चलचित्र युनिटले दिएको छ । शनिबार काठमाडौंको गोपिकृष्ण मूभिजको ११०० सिट रहेको गोपि, ६९२ सिट रहेको कृष्ण र २५९ सिट रहेको ओम बिहानै देखि हाउसफुल भएको बताइयो ।  यस्तै क्युएफएक्सको लबिम, सिभिल सेन्टर, छायाँ सहित सबै हल,बिग, एफक्युज, अष्ट, गुण क लगायत सबैहलमा दर्शकको उल्लेखीय उपस्थिती रहेको थियो । शनिबार दिउँसो १ बजे गोपिकृष्ण हल पुगेको अभिनेता प्रदीप खड्कालाई दर्शकको भीडबाट जोगाउन निर्माण पक्षलाई हम्मे हम्मे परेको थियो । गोपिकृष्णको प्राँगनमा दर्शकको उर्लदो भिडले प्रदीपलाई भेट्न चाहेपछि उनी भिडमा पसेका थिए ।  यसैगरी शनिबार नै बिग मूभिज, सिभिल मल, अष्ट नारायण हल पुगको प्रदीप सहित अभिनेत्री मिरुना र परमिता पनि दर्शकको अटोग्राफ लिने र सेल्फी खिच्ने क्रेज गजबकै देखियो । 

रोजका निर्देशक निरक पौडेलले शनिबारको सफलताबारे भने, ‘रोज काठमाडौं र मोफसलको मल्टिप्लेक्सदेखि सिँगल थिएटरका सबैजसो हल शनिबार हाउसफुल भयो । लामो समय हल सुस्त रहेको बेला रोजले यो वर्षकै सर्वाधिक राम्रो व्यापार गरेकाले हामी सोमबारसम्म यसको सम्पूर्ण व्यापार सार्वजनिक गर्छौं ।’ चलचित्र रोज लभ स्टोरी, क्राईम जनरामा निर्माण भएको उनले बताए । चलचित्रका वितरक गोबिन्द शाहीले पनि रोजको सफलताले आफु अत्याधिक खुसी रहेको बताए । यो चलचित्रमा अभिनेता प्रदीप, पारमिता, मिरुनालगायत कर्मा शाक्य, बरुण शमशेर जबरा, नरेश पौड्याल, केदार भुषाल, पल्पसा डंगोल, प्रकाश श्रेष्ठ, प्रदीप दाहाललगायत छन् । रोजमा राजुबिक्रम थापाको छायाँकन, मित्रदेव गुरुङको सम्पादन, एलिस कार्की र  अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बुद्धिलाल मगरको निर्माण व्यबस्थापन रहेको छ । अग्रज चलचित्रकर्मी उद्धब पौडेलको प्रस्तुति रहेको रोजलाई मणिकरण केसी, आर्या पौडेल र आरोही केसीले निर्माण गरेको हुन् । 

यस्तै चलचित्र ‘रामकहानी’को टिम पनि बिहानैबाट राजधानीका हलहरुमा दर्शक प्रतिक्रिया बुझ्न हिडिरहेका छन् । ‘रामकहानी’ चाबहिलस्थित गोपिकृष्ण हलमा भने प्रदर्शन भएको छैन त्यसैले पनि टिम उक्त हलमा दर्शक प्रतिक्रिया बुझ्न पुगेन । यसैबिचमा दिउँसो ११ः३० मा राजधानीको कुमारी हलमा पुगेकी नायिका तथा निर्मात्री पूजा शर्माले चलचित्रलाई दर्शकको पुर्ण साथ मिलेको बताइन्  । उनले राजधानीको ठुलो हल गोपिकृष्णमै चलचित्र प्रदर्शनमा नआउँदा कत्तिको असर परेको छ भन्ने सञ्चारकर्मिहरुको प्रश्नमा ठुलो हलमा आफ्नो चलचित्र नलाग्दा केहि असर परेको बताउँछन् । ‘ठुलो हलमा नलाग्दा केहि असर त पक्कै परेको छ, तर पनि अन्य हलमा दर्शकको संख्या निकै राम्रो छ, निकै खुसी छौं ।’ पूजाले भनिन् । गोपिकृण हलले साना तीन हल दिने भएपनि ‘रामकहानी’ टिमले ठुलो हल ‘गोपि’ अथवा ‘कृण्ण’ चाहिने भनेपछि उक्त हलमा रामकहानी प्रदर्शन नभएको हो । यसै चलचित्रका निर्देशक सुदर्शन थापाले पनि दर्शकको राम्रो साथ पाएको बताएका छन् । उनले यो भन्दा अघिका चलचित्रमा जस्तै दर्शकको साथ मिलेको बताए । चलचित्रका हाँस्य कलाकार केदार घिमिरे अर्थात माग्नेबुढाले पनि आफुले दर्शक हँसाउन खोजेको ठाउँमा दर्शक हाँसेको र रुवाउन खोजेको ठाउँमा दर्शक रोएको बताए । दुबै चलचित्रले दुईदिनको कलेक्सन भने सार्वजनिक गरिसकेका छैनन् । समाचार आजको हिमालय टाइम्समा प्रकाशित छ ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]