हरेक कामबाट सिक्ने मौका पाएकी छुः स्वानिका

Posted on: October 26, 2018
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

आजभन्दा ६ बर्ष अघि म्युजीक भिडियोमा मोडलिङ गरेसँगै कलाक्षेत्रमा प्रवेश गरेकी स्वानिका बास्तोला अहिले पुर्णरुपमा ब्यवसायिक कलाकार भइसकेकी छिन् । सुरुवातका दिनहरुमा संघर्ष गर्दै एकदुई गीतहरुमा मोडलिङ गर्दै आएकी स्वानिकाले अहिलेसम्म आधा दर्जनबढी चलचित्रमा अभिनय गरिसकेकी छिन् भने दर्जनबढी म्युजीक भिडियोहरुमा काम गरिसकेकी छिन् । यस्तै उनले केहि बिज्ञापनहरुमा पनि काम गरेकी छिन् ।

कलाकारितामा आउनुपुर्व उनी जिविकोपार्जनका लागी अन्य काम गर्दै आएको बताउँछिन् । कलाकारितामा प्रवेश गरेसँगै सिक्दै यहि पेशालाई ब्यवासायिक बताएको उनी बताउँछिन् । ‘सुरुवातका दिनहरुमा कस्तो होला, कसरी गर्ने होला भन्ने जिज्ञासा थियो, सुरुवातका कामहरुबाट धेरै सिक्ने मौका पाए, अग्रज दाईदिदिहरुबाट धेरै कुरा सिकेरे आज यहाँसम्म आएकी छु,’ स्वानिकाले भनिन् । उनले कुनैपनि काम सिकेर अगाडी बढ्ने हो भने अवसरहरु धेरै आउने बताउँछिन् । उनलाई सुरुवातका दिनमा अभिनय कला नजाँदा गाह्रो भएको पनि सुनाइन् । ‘सुरुका दिनहरुमा केहि गाह्रो भएको थियो, सबैको प्रतिक्रिया लाई मनन् गर्दे गएँ, सानो कमेन्ट पनि मेरो मनमा बिझाउँथ्यो’ उनले भनिन् ।


स्वानिकाले कलाकारितामा ६ बर्ष बिताएपनि आफू अझैपनि संघर्ष गरिरहेको बताउँछिन् । हरेक काममा आफूले केहि न केहि सिक्दै अगाडी बढेको उनी बताउँछिन् । कलाकारितामा महिला भएकी कारण केहि कठिनाई भएको महसुस गरेको उनले सुनाइन् । मोडलिङ गर्नेक्रममा लामो समयका लागी बिभिन्न ठाउँमा जानेक्रममा र समाजले हेर्ने दृष्टिकोढाले पनि फरक पार्ने बताइन् । स्वानिका भन्छिन्, ‘अझै पनि हाम्रो समाजमा महिला र पुरुष भन्ने बित्तिकै सोच्ने दृष्टिकोण फरक छ । कलाकारिताको कुरा गर्दा हामी महिला भएको हिसाबले कुन काम गर्ने कुन काम नगर्ने भन्ने सोच्न बाध्य हुनुपर्छ, किनकी कतिपयले नराम्रो दृष्टिले पनि काम गराउन खोजेको हुन्छन्, त्यो बिचार पु¥याउनु पर्छ ।’

स्वानिकाले गायक शिव परियारको एक गीतबाट मोडलिङमा डेब्यु गरेकी हुन् । यस्तै उनले चारबर्ष अघि चलचित्र ‘भाग सानी भाग’बाट अभिनयमा पनि डेब्यु गरेकी थिइन् । जसमा नायिका केकी अधिकारी, नायक सबिन श्रेष्ठ लगायतसँग स्क्रिन सेयर गरेकी थिइन् । यस्तै ‘लिला’ र ‘बाह्रमासे’ उनले पछिल्लो समय अभिनय गरेका चलचित्र हुन् । उनको ‘काउसो , कपुरी क, पोखराकि काली, पेरिफेरी’ चलचित्र प्रदर्शन हुने तयारीमा छन् । उनले अहिले टेलिसिरियल मेरिबास्सै र भरोसामा पनि अभिनय गर्दै आएकी छिन् । उनले ‘वेलकम’ बिज्ञापन एजेन्सीबाट पोसाक दाना तथा जस्तापाताको बिज्ञापनमा पनि देखिएकी छिन् ।


(यो समाचार हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]