‘पठान’को पाकिस्तानमा पनि क्रेज, विश्वभर ६०० करोड माथिको कलेक्सन

...

एजेन्सी । बलिउड सुपरस्टार शाहरुख खानको चलचित्र ‘पठान’ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्रले विश्वभर ६ सय करोडभन्दा बढी कलेक्सन गरेको छ । ‘पठान’ प्रतिबन्धको बाबजुद पाकिस्तानको डिफेन्स हाउसिंग अथोरिटी, कराचीमा अवैध रूपमा प्रदर्शन भइरहेको छ । 

पाकिस्तानमा पछिल्लो चार वर्षदेखि बलिउड चलचित्रहरू प्रतिबन्धित छन् । सन् २०१९ मा भारतले पाकिस्तानी हवाई क्षेत्र उल्लङ्घन गरेपछि चलचित्र हलको प्रतिनिधित्व गर्ने ट्रेड ग्रुपले यस्तो निर्णय गरेको थियो ।

 

टिकट ९ सय रुपैयाँमा बिक्री

फायरवर्क्स इभेन्ट्स नामक कम्पनीले ‘पठान’ चलचित्रको स्क्रिनिङ आयोजना गरेको बताइएको छ । ९ सय रुपैयाँमा टिकट बिक्री भइरहेको भन्दै  फेसबुकमा पोस्ट गरिएको थियो । आगामी शनिबारका लागि ‘पठान’ को सबै टिकट बिक्री भइसकेको छ । ‘पठान’ को टिकटको माग यति धेरै भएकोले आइतबारका लागि थप दुई शो थपिएको प्रतिवेदनमा उल्लेख छ । पहिलो शो बेलुका ४ः३० देखि ७ः३० सम्म र दोस्रो शो बेलुका ८ देखि ११ बजेसम्म चल्नेछ ।

पठानको रेकर्ड
शाहरुखको ‘पठान’ले कमाईको मामिलामा धेरै रेकर्ड तोडेको छ । यो चलचित्रको विश्वव्यापी कुल कलेक्सन ६६७ करोड भारु रहेको छ । यसले पछिल्लो ८ दिनमा भारतीय बक्स अफिसमा ३३६ करोड रुपैयाँ कमाएको छ । चलचित्रमा शाहरुख खानसँगै दीपिका पादुकोण, जोन अब्राहम, आशुतोष राना र डिम्पल कपाडिया लगायतका कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् ।