महेश र बिनिताको ‘हल्कारा’ वैशाख २९ मा

...

माघ, काठमाडौँ । नेपाली चलचित्र ‘हल्कारा’ आगामी बर्षको वैशाख २९ मा प्रदर्शनमा आउने भएको छ । यो चलचित्र अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भइसकेको छ । चलचित्रमा अमेरिकामा नै बसोबास गर्दै आएका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको छ ।

‘फिल्मले गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको छ,’ निर्देशक सापकोटा भन्छन्, ‘ फिल्म सत्यकथा प्रेरित हो । तर कथालाई सकेसम्म मनोरञ्जक हिसाबले प्रस्तुत गर्ने प्रयास गरिएको छ ।’

चलचित्रमा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन् । ‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

यसैगरि चलचित्र नेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो ।

यो चलचित्रमा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।

चलचित्रलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । चलचित्रलाई काठमाडौँमा करन श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछ ।