काठमाडौँ । फिल्म ‘गुन्यु चोलो : द ड्रेस’को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रम बिच सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द र मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीले नै दिएका छन् । गीतमा आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने इच्छा रहेको देखाइएको छ । मनबाट चोखो माया गर्न गीतमा आग्रह गरिएको छ ।
गीतको भिडियोमा नाजिर हुसेनको अभिनय छ । उनी महिलाको भेषमा देखिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।कार्यक्रम निर्माण टिमले फिल्मको प्रदर्शन मिति भदौ १३ गतेका लागि घोषणा गरेको छ । समुन्द्र भट्टको निर्देशन रहेको फिल्म लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । फिल्ममा नाजिरले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्त्वपूर्ण भूमिका फिल्ममा निर्वाह गरेका छन् ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् ।







३२ असार २०८२, बुधबार ०९:५३ 








