चितवनमा ‘गुन्यु चोलो’ टिम, तीज कार्यक्रममा नाजिरको छमछमी

...

काठमाडौं । भदौ १३ गतेबाट रिलिजमा आउने तयारीमा रहेको ‘गुन्यु चोलोः द ड्रेस’ फिल्मको टिम आज हरितालिका तीजको दिन चितवन पुगेको छ । फिल्मको टिमबाट अभिनेता नाजिर हुसेन, निर्देशक समुद्र भट्ट सहितको टिम तीज बिशेष कार्यक्रममा पुगेका हुन् ।

ग्रेट टिभीको आयोजनामा पर्सा खैरेनीमा सम्पन्न तीज बिशेष कार्यक्रममा नाजिर उपस्थिती दिदीबहिनीहरुसँग छमछमी नाचेका थिए । साथै उनले आफ्नो फिल्मबारे जानकारी गराए । उनले तीजको समयमा दिदीबहिनीहरुका बिच नाच्न र आफ्नो फिल्मबारे जानकारी दिन पाउँदा खुसी लागेको बताए ।

फिल्मकी निर्देशक भट्टले आफ्नो फिल्मबारे जनचासो बढ्दै गएको देख्दा खुसी लागेको बताइन् । साथै उनले अग्रिम टिकट बुकिङ खुलिसकेको पनि जानकारी गराइन् ।

फिल्मको कथावस्तु लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा आधारित छ । नाजिरले यसमा पारालैंगिक महिलाको भूमिका निर्वाह गरेका छन् । सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि अभिनय गरेका छन् ।

फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्ले किनेको छ । सम्पादन, रङ संयोजन, ध्वनि मिश्रण, साउन्ड डिजाइनदेखि ब्याकग्राउण्ड म्युजिकसम्मको काम अमेरिकामा गरिएको छ ।

नेपाली र अमेरिकी फिल्म प्रोड्क्सन हाउसको सहकार्यमा फिल्म निर्माण भएको हो । आकाश बुढाथोकी र भि(भन्से जानुबोनको लगानी छ । कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सहयोगी निर्माता हुन् ।