काठमाडौंमा गुञ्जिँदै कन्दरा, ब्याण्डले ‘रिदम अफ चेन्ज’ को सन्देश दिने

...

काठमाडौं । लोकप्रिय सांगीतिक समूह कन्दराले ‘काठमाडौं कलिङ कन्दरा’ नामक विशेष संगीत कार्यक्रमको घोषणा गरेको छ
सो कार्यक्रमअन्तर्गत ब्याण्डले आउँदो २८ कात्तिक (आउँदो शुक्रबार) ठमेलको एक्सओ क्लबमा प्रस्तुति दिनेछ । स्थापनाको ३२ वर्षमा ब्याण्ड दोस्रोपटक काठमाडौंमा गुञ्जिन लागेको हो ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइयो । विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौं कलिङ कन्दरा’ कार्यक्रम गर्न लागेको हो।

पत्रकार सम्मेलनमा ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले ब्याण्डले अघि सार्न लागेको ‘रिदम अफ चेन्ज’ थिमअन्तर्गत यो कन्सर्ट हुन लागेको बताए । उनले उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाजिक परिवर्तनसँग जोडिएको बताए ‘मुलुक परिवर्तनको संघारमा छ । संगीतमार्फत हामीले मुलुकको परिवर्तनमा हातेमालो गर्न खोजेको हो’ गायक श्रेष्ठले भने, ‘यो कन्सर्ट हाम्रो आवाज हो । एक्सोमा हुन लागेको कन्सर्ट हाम्रो थिमअन्तर्गतको पहिलो कन्सर्ट हुनेछ ।’

 

Rhythm of Change

श्रेष्ठले क्लबमा गर्नुको उद्देश्य मनोरञ्जन गर्नु मात्र नभएर युवापुस्तासँग जोडिने प्रयास पनि बताए । ‘क्लब नाच्ने र गाउने ठाउँ मात्र होइन । अहिलेको युवापुस्ताको माग हो’ उनले भने ।

ब्याण्डले गतवर्ष पहिलोपटक काठमाडौं कन्सर्ट ठमेलस्थित एलओडीमा गरेको थियो । ‘हामी रिदम अफ चेन्जलाई सामाजिक र आर्थिक परिवर्तनसँग जोड्न चाहन्छौं’ उनले भने, ‘संगीतमा पनि यो परिवर्तन लागू हुन्छ । हामीले फ्रन्टम्यानलाई पनि चिन्यौं । पर्दा पछाडिकालाई चिनेनौं ।अबको १ महिना नेपाल र त्यसपछि विदेशका विभिन्न मुुलुकमा ‘रिदम अफ चेन्ज’ टूर हुने विवेकले बताए । उनका अनुसार ब्याण्डले अमेरिका, क्यानडा, युरोप र एसियाली मुलुकमा टूरको तयारी गरेको छ ।एक्सओ क्लबमा हुने कन्सर्टमा ब्याण्डले आफ्ना हिट गीत गुञ्जाउनेछ । त्यससँगै बीचमा ‘रिदम अफ चेन्ज’ का सन्देश पनि सुनाइनेछ । ब्याण्डले यो कन्सर्टलाई युवापुस्तासँग जोडिने अवसरको रुपमा लिएको छ ।पत्रकार सम्मेलनमा जेनजी आन्दोलनका शहिदको सम्झनामा मैनबत्ती बालेर मौन धारण गरियो । साथै, गायक श्रेष्ठले आगामी नयाँ सुमधुर गीतको टुक्का गाएर समारोहलाई मन्त्रमुग्ध तुल्याए ।

अबदेखि कन्दरा मनोरञ्जन मात्र नभएर, सामाजिक प्रभाव पार्ने मनोरञ्जनमा पनि सक्रिय हुने उनले बताए । ‘हामी अब सोसल इम्प्याक्ट इन्टरटेनमेन्ट गर्दैछौं’ उनले भने, ‘अब ब्याण्डलाई त्यसरी अघि बढाउने तयारीमा छौं ।’सो अवसरमा एक्सओ क्लबका तर्फबाट नीरा जोशी, मन्छिन शाक्य, भ्वाइस अफ नेपाल रियालिटी शोका होस्ट सुशील नेपाल लगायतले ‘कन्दरा’को कन्सर्टबारे शुभकामना दिएका थिए ।३२ वर्षअघि पोखरामा जन्मिएको ब्याण्ड अहिले पनि दर्शकमाझ चर्चित छ । चन्चले कान्छी, हङकङ पोखरा, तगारोमा रुमाल राखी, भेडीगोठैमा, लेककी हे माया ब्याण्डका सुप्रसिद्ध गीत हुन् ।

ब्याण्डको लिड भोकलिस्टमा विवेक श्रेष्ठ, ड्रममा सुनिल थापा, मादलमा अविनाश गायक, बासिस्टमा पंकज झा, गितारमा सन्देश मुजो, किबोर्डमा नील घतानी, साउन्ड इन्जिनियरमा सिमोस तझ्या र प्राविधिक विज्ञमा नवीन थापा छन् ।

पत्रकार सम्मेलनमा ब्याण्डले आउँदो एल्बमको रुपमा ‘कविसँग कन्दरा’ आउन लागेको जानकारी दिइयो ।