काठमाडौं । नेपाली चलचित्र क्षेत्रका बहुआयामिक अभिनेता अर्पण थापाले अब निर्देशकको रूपमा नयाँ प्रोजेक्ट ‘फ्रेन्च किस’ घोषणा गरेका छन्। ए.टी.एफ. प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण हुने यो चलचित्रको शुभमुहूर्त शुक्रबार सरस्वती पूजा (वसन्तपञ्चमी)को अवसरमा काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा गरिएको छ।
अर्पण थापाले यसअघि नेपाली चलचित्रमा फरक शैली र दृष्टिकोण प्रस्तुत गर्ने निर्देशकको रूपमा आफ्नो छुट्टै पहिचान बनाइसकेका छन्। उनले ‘फ्रेन्च किस’मा निर्देशनको जिम्मेवारी आफैले बहन गर्दैछन् र चलचित्रमा मुख्य भूमिकामा समेत देखा पर्ने छन्।
चलचित्रको छायांकन सोमबारदेखि चितवनका विभिन्न स्थानमा सुरु हुनेछ। अर्पणसँगै अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा रहनेछिन्। उनी स्वीट्जरल्यान्डको ७७ औँ लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि प्रतिष्ठित ‘बोक्कालिनो डिओर’ अवार्ड जितिसकेकी छन्।
चलचित्रमा गौरी मल्ल र आयशा तामाङ पनि मुख्य भूमिकामा रहनेछन्। कार्यकारी निर्माता सौगात बस्नेत र सह–निर्माता सुभाष बी. शाही छन्। अनुभवी सिनेमेटोग्राफर सुदीप बरालले चलचित्रको छायांकन सम्हाल्नेछन् भने संगीत प्रसिद्ध गायक–संगीतकार दीपक बज्राचार्यले सिर्जना गर्नेछन्।
अर्पण थापाको निर्देशन र अभिनयमा आधारित यो नयाँ चलचित्रले नेपाली दर्शकलाई फरक अनुभव दिने अपेक्षा गरिएको छ र २०२६ भित्र प्रदर्शनमा आउने लक्ष्य राखिएको छ।







९ माघ २०८२, शुक्रबार १६:०५ 











