काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १ गते प्रदर्शनमा आउने चलचित्र ‘शिवांश’मा प्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वर समावेश हुने भएको छ । निर्माणपक्षका अनुसार चलचित्रमा खेरले गाएको ‘शिव ताण्डव स्तोत्रम्’ गीत रहनेछ, जसले नेपाली दर्शकलाई विशेष सांगीतिक अनुभव दिने अपेक्षा गरिएको छ।
निर्माणपक्षले कैलाश खेरको गीत समावेश भएको जानकारी दिँदै चलचित्रको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । सार्वजनिक श्याम–श्वेत पोस्टरमा चलचित्रका प्रमुख पात्रहरू तनावपूर्ण र रहस्यमय अवस्थामा देखिन्छन् । पोस्टरमा प्रवीण खतिवडा हातमा चक्कु बोकेर रौद्र रूपमा प्रस्तुत छन् भने तेज गिरी रिसाहा मुद्रामा देखिएका छन् । रुषा न्यौपाने चनाखो नजरले हेरिरहेकी छन् भने विमला लिम्बू आश्चर्यमिश्रित भावमा देखिन्छिन् । विकास जोशी हातमा डमरु बोकेर चिच्याइरहेको दृश्यले पोस्टरलाई थप प्रभावशाली बनाएको छ। पोस्टरमा देखिएका चक्र र आगोले चलचित्रको तनावपूर्ण र गम्भीर कथावस्तुलाई संकेत गर्छन्।
चलचित्र ‘शिवांश’को रिलिजलाई लक्षित गर्दै गायक कैलाश खेरले नेपाल र नेपाली प्रशंसकहरूका लागि विशेष भिडियो सन्देशसमेत जारी गरेका छन् । सो सन्देशमा उनले नेपाली दर्शकले आफू र आफ्ना गीतहरूलाई सधैं माया र साथ दिएकोमा आभार व्यक्त गर्दै ‘शिवांश’लाई भारत–नेपालबीचको मैत्री सम्बन्धको प्रतीकका रूपमा चित्रण गरेका छन्।
“नेपालका फ्यानहरूले मलाई र मेरा गीतहरूलाई जुन प्रेम दिनुहुन्छ, त्यसका लागि शब्दमा धन्यवाद व्यक्त गर्न गाह्रो छ,” खेरले भनेका छन्। उनले ‘शिव ताण्डव स्तोत्रम्’लाई भारत–नेपालको मित्रताबाट जन्मिएको विशेष सांगीतिक प्रस्तुति भन्दै नेपाली दर्शकबाट चलचित्रका लागि माया र आशीर्वादको अपेक्षा गरेको बताएका छन्।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको ‘शिवांश’ सन्तोष कुमार आत्रेयको डेब्यु निर्देशकीय चलचित्र हो । चलचित्रका निर्माता अञ्जान केसी हुन् भने सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। कथाकार स्वयं अञ्जान केसी हुन् भने स्क्रिनप्ले बारत लिम्बूले तयार पारेका छन्।
चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुषा न्यौपाने मुख्य भूमिकामा छन् । साथै विकास जोशी, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहनेछ।
संगीत पक्षमा विप्लव प्रतीक र राजनराज शिवाकोटीका गीत रहनेछन् भने संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले दिएका छन् । चलचित्रमा राजनराज शिवाकोटी, मिलन नेवार, समीक्षा अधिकारीको स्वर समावेश छ। द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चोहान, डीओपी सरद महतो तथा कार्यकारी निर्माता सम्भू थापा रहेका छन्।
चलचित्र चौतारीमा पोस्ट–प्रोडक्सन सम्पन्न भएको ‘शिवांश’को वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ।







१५ माघ २०८२, बिहीबार ११:५१ 











