तीन हजार यौनकर्मीको भोगाइमा आधारित फिल्म ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा

...

काठमाडौंनिर्देशक रोशन मिराजको नयाँ फिल्मलालिमाले यौनकर्मी समुदायको भोगाइ र संरचनागत अन्यायलाई मुख्य विषय बनाउँदै फागुन २९ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले मंगलबार पहिलो पोस्टर सार्वजनिक गर्दै फिल्मको विषयवस्तु र प्रदर्शन मिति सार्वजनिक गरेको हो।

तीन हजार यौनकर्मीको जीवन अनुभवमा आधारित कथामा बनेको यस फिल्ममा नायिका रोशनी कार्की शीर्ष भूमिकामा देखिएकी छन्। उनकी आमाको भूमिकामा उषा रजक रहेकी छन् भने शिशिर वाङ्देल, जीवन भट्टराई, सबिन कट्टेल, घनश्याम जोशी र सुष्मा निरौला अन्य मुख्य कलाकार हुन्।

निर्देशक मिराजका अनुसार, बोल्न नसक्ने आमालाई कारागारबाट मुक्त गराउने प्रयासमा लालिमा सहरको अँध्यारो र कठोर यथार्थमा धकेलिन पुग्छिन् । यही संघर्षपूर्ण यात्रामा आधारित भएर फिल्म निर्माण गरिएको हो।

सार्वजनिक पोस्टरमा रोशनी कार्कीलाई एक्लै प्रस्तुत गरिएको छ, जहाँ संकटमा परेकी लालिमाको असहाय अवस्था र चरित्रको द्वन्द्वलाई संकेत गरिएको छ। निर्देशक मिराजलेलालिमालाई पीडा मात्र होइन, शोषण र अन्यायविरुद्ध उभिएको मानवीय साहसको कथा भएको बताएका छन्।

फेथ आस्था र एम्पिफाई चेन्जको सहकार्यमा बनेको फिल्मका कार्यकारी निर्माता रीना लामा हुन् भने कथा तथा पटकथा स्वयं निर्देशक मिराजले लेखेका हुन्।