बलिउड स्टार शिल्पा शेट्टी आज नेपाल आउँदै ? कारण यस्तो छ

...

काठमाडौँ । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी आज नेपाल आउँदैछिन् । उनको नेपाल भ्रमण कुनै चलचित्रको प्रचार, छायांकन वा व्यक्तिगत बिदाका लागि होइन, बरु नेपाललाई अन्तर्राष्ट्रिय माइस (Meetings, Incentives, Conferences and Exhibitions) तथा डेस्टिनेशन वेडिङ गन्तव्यका रूपमा विश्वसामु चिनाउने उद्देश्यले आयोजना गरिएको प्रतिष्ठित सम्मेलनमा सहभागी हुन हो।

भारतको अग्रणी इभेन्ट तथा वेडिङ उद्योगको संस्था EMF Global ले पहिलो पटक नेपालमा आयोजना गरेको १३औँ EMF ACE Global Convention & Awards 2026 मा सहभागी हुन शिल्पा काठमाडौं आएकी हुन्। साउन १५ देखि १७ गतेसम्म द सोल्टी काठमाडौंमा सञ्चालन हुने सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट व्यवस्थापक, वेडिङ प्लानर, पर्यटन व्यवसायी, लगानीकर्ता तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी हुँदैछन्।

विश्वभर चर्चित बलिउड अनुहार शिल्पा शेट्टीको सहभागिताले सम्मेलनलाई अन्तर्राष्ट्रिय आकर्षण थप्ने विश्वास आयोजकको छ। सम्मेलनमार्फत नेपाललाई लक्जरी वेडिङ, अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट इभेन्ट र प्रोत्साहन भ्रमणका लागि उपयुक्त गन्तव्यका रूपमा विश्व बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

सम्मेलनका सहभागीहरूले काठमाडौंसँगै पोखरा, चितवन र जनकपुरको पनि भ्रमण गर्नेछन्। यसबाट नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक पर्यटन, स्तरीय होटल तथा आतिथ्य सेवाको प्रत्यक्ष अनुभव अन्तर्राष्ट्रिय इभेन्ट उद्योगका निर्णयकर्ताहरूले गर्नेछन्, जसले भविष्यमा नेपालमा ठूला अन्तर्राष्ट्रिय कार्यक्रम तथा गन्तव्य विवाह आयोजना हुने सम्भावना बढाउने अपेक्षा गरिएको छ।

EMF Global का संस्थापक अध्यक्ष डा. जयदिप मेहताका अनुसार हिमाली सौन्दर्य, आध्यात्मिक महत्व, समृद्ध संस्कृति र भारतसँगको सहज पहुँचका कारण नेपाल दक्षिण एसियाकै उत्कृष्ट डेस्टिनेशन वेडिङ र माइस पर्यटन गन्तव्य बन्न सक्ने क्षमता राख्छ। यही सम्भावनालाई विश्व बजारसँग जोड्ने उद्देश्यले यस वर्षको सम्मेलन नेपालमा आयोजना गरिएको हो।

शिल्पा शेट्टीसँगै सम्मेलनमा बलिउड अभिनेता शक्ति कपूर, विक्रान्त मेसी तथा नेपाली अभिनेत्री मनीषा कोइरालाको पनि सहभागिता रहनेछ। मनोरञ्जन क्षेत्रका यी चर्चित व्यक्तित्वहरूको उपस्थितिले नेपालमा आयोजना भइरहेको सम्मेलनलाई थप अन्तर्राष्ट्रिय चर्चा दिलाउने अपेक्षा गरिएको छ।

पर्यटन व्यवसायीहरूका अनुसार यस्ता सम्मेलनले तत्काल होटल, ट्राभल, इभेन्ट व्यवस्थापन, यातायात र अन्य सेवा क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै दीर्घकालमा नेपाललाई अन्तर्राष्ट्रिय माइस तथा डेस्टिनेशन वेडिङ बजारको प्रतिस्पर्धी गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ।