काठमाडौं । चर्चित लोक तथा तीज गायक बिशाल सोनीले आफ्नो नयाँ तीज गीत ‘उत्ताउली’ सार्वजनिक गरेका छन्। यसअघि ‘मकैबारी दर्याम–दर्याम’, ‘लखर लखर केटी खोज्न हिँड्यो’ जस्ता चर्चित तथा बहसमा आएका गीतमार्फत दर्शकमाझ छुट्टै पहिचान बनाएका सोनी यसपटक पनि फरक शैलीको तीज गीत लिएर आएका हुन्।
बिशालका गीतहरूलाई लिएर बेला–बेलामा विवाद र आलोचना हुने गरेको छ। कतिपयले उनी चर्चाका लागि जानाजानी यस्ता गीत ल्याउने गरेको टिप्पणी पनि गर्छन्। यही विषयमा गरिएको प्रश्नको जवाफ दिँदै बिशालले भने, “मेरो गीतबाट सन्देशभन्दा पनि मनोरञ्जन धेरै होस् भन्ने चाहना हुन्छ।” उनका अनुसार आफूले दर्शक–श्रोतालाई रमाइलो दिनकै लागि यस्ता गीतहरू सिर्जना गर्ने गरेका हुन्।
नयाँ गीत ‘उत्ताउली’ को बोलले नै दर्शकको ध्यान तान्ने देखिन्छ। गीतमा बिशाल सोनीसँगै चर्चित गायिका सुनिता मी परियारको स्वर रहेको छ। बिशालसँग सहकार्य गर्ने अनुभवबारे सुनिताले पनि आफ्नै शैलीमा प्रतिक्रिया दिएकी छन्, जसलाई भिडियो अन्तर्वार्तामा समेटिएको छ।

गीतकी मोडल तथा निर्मात्री कोमल नेपाली हुन्। ‘उत्ताउली’ कत्तिको उत्ताउलो बनेको छ भन्ने प्रश्नमा कोमलले पनि आफ्नो धारणा राखेकी छन्। भिडियो निर्माणमा उनले उल्लेख्य लगानी गरेको बताइएको छ।
गीतको निर्देशन विजय पुनले गरेका हुन्। भिडियो निर्माणमा गरिएको खर्चबारे पनि विजयले अन्तर्वार्तामार्फत खुलाएका छन्। विशेष कुरा के भने, गीतको हुकलाइन, थेगो, शब्द तथा संगीत सबै बिशाल सोनी स्वयंले तयार गरेका हुन्। आकर्षक भिडियोसहित सार्वजनिक गरिएको ‘उत्ताउली’ अहिले कोमल नेपालीको आधिकारिक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ।






१७ श्रावण २०८३, आईतवार १७:३२ 









