काठमाडौं । आगामी असोज २ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘झिँगे दाउ २’को टिजरले सामाजिक सञ्जालमा राम्रो चर्चा बटुलेको छ। सार्वजनिक भएको चार दिनमै टिजरले युट्युबमा १० लाख भ्यूज पूरा गरेको छ भने फेसबुक र टिकटकमा गरी १ करोडभन्दा बढी पटक हेरिएको निर्माण पक्षले जनाएको छ।
टिजरमा समावेश केकी अधिकारी र आँचल शर्माबीचको जेठानी–देउरानीको झगडाको दृश्य सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ। उनीहरूको झगडालाई हास्य र पारिवारिक द्वन्द्वसँग जोडेर प्रस्तुत गरिएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको चलचित्रको टिजरले जेठानी–देउरानीबीचको विवादसँगै दाजुभाइको कलह र आमाको पीडालाई पनि देखाएको छ। टिजरले पारिवारिक सम्बन्ध र आमाको महत्वलाई मुख्य विषयका रूपमा प्रस्तुत गर्ने संकेत गरेको छ।
चार दिनमै पाएको दर्शकको प्रतिक्रियाले चलचित्रप्रति उत्सुकता बढाएको निर्माण पक्षको विश्वास छ। चलचित्रले प्रदर्शनपछि बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रलाई एप्पल इन्टरटेनमेन्टले नेपालभर वितरण गर्नेछ। सुलभ प्रतिक देउजा र समिक्षा देउजा निर्माता रहेका चलचित्रमा रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता छन्।
चलचित्रमा विष्णु घिमिरे ‘कल्पित’को डीओपी, मित्र डी गुरुङको सम्पादन, ईश्वर घिमिरेको प्रोडक्सन म्यानेजमेन्ट, अर्जुन घिमिरेको संगीत, रामजी लामिछानेको कोरियोग्राफी तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ।
परिच्छेद सेनले पटकथा तथा संवाद लेखेका हुन् भने कथा गोविन्द फुयाँल र शिशिर चालिसेको रहेको छ। पारिवारिक सम्बन्ध, कलह र आमाको महत्वलाई केन्द्रमा राखिएको चलचित्र असोज २ गतेदेखि प्रदर्शनमा आउनेछ।






२५ श्रावण २०८३, सोमबार १२:५९ 









