काठमाडौं । नेपाली संगीतका लोकप्रिय कलाकार र ब्यान्डलाई लिएर आयोजना हुन लागेको ‘सुरताल म्युजिकल टुर २०८३’ भोलि बुधबारदेखि सुरु हुँदैछ। देशका विभिन्न शहरमा पुग्ने यो सांगीतिक यात्राको पहिलो कार्यक्रम तेह्रथुमको म्याग्लुङमा असोज १४ गते आयोजना हुँदैछ।
‘अब गुन्जिन्छ एउटै सुर, एउटै ताल’ भन्ने नारासहित आयोजना हुन लागेको म्युजिकल टुरमा लोकप्रिय गायक प्रमोद खरेल एण्ड परम्परा ब्यान्ड, लोकप्रिय कलाकार प्रकाश सपुत तथा द फिरन्ते ब्यान्डको विशेष लाइभ प्रस्तुति रहनेछ। संगीत, नृत्य र मनोरञ्जनसँगै कलाकारहरूको प्रत्यक्ष प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने आयोजक प्रसान्त सुनारले जानकारी दिए ।
नेपालका ७ वटै प्रदेशका विभिन्न १३ शहरमा पुग्ने गरी टुरको तालिका सार्वजनिक गरिएको छ। तेह्रथुमपछि खाँदबारीमा असोज १७, बर्दिबासमा असोज १९, महेन्द्रनगरमा मंसिर २, धनगढीमा मंसिर ५, नेपालगन्जमा मंसिर ८, सुर्खेतमा मंसिर १२, तुलसीपुरमा मंसिर १५, बुटवलमा मंसिर १९ र चितवनमा मंसिर २६ गते कार्यक्रम आयोजना हुने पोस्टरमा उल्लेख छ।
यसअघि सार्वजनिक गरिएको तालिकाअनुसार पोखरामा असोज ३, धरानमा असोज ६ र धनकुटामा असोज १० गते पनि कार्यक्रम तय गरिएको थियो। पछिल्लो तालिकाअनुसार टुरको आगामी कार्यक्रमहरू विभिन्न शहरमा निरन्तर सञ्चालन हुनेछन्।
सुरताल इभेन्ट एण्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुने यस सांगीतिक यात्राका प्रत्येक कार्यक्रम स्थानीय आयोजक तथा स्थानीय संघ–संस्थाको सहकार्यमा आयोजना गरिनेछ।
आयोजकले संगीतप्रेमीलाई आफ्नै शहरमा लोकप्रिय कलाकारको प्रत्यक्ष प्रस्तुति हेर्ने अवसरसँगै मनोरञ्जन र अविस्मरणीय सांगीतिक अनुभव प्रदान गर्ने जनाएको छ। ‘सुरताल म्युजिकल टुर २०८३’मार्फत कलाकार, संगीत र दर्शकलाई देशका विभिन्न शहरमा जोड्ने लक्ष्य आयोजकको छ।







१३ आश्विन २०८३, मंगलवार १९:४० 









