काठमाडौं । सुदूरपश्चिमको लोकसंस्कृति, जनविश्वास र परदेशिएका प्रियजनको पर्खाइमा बाँचेका महिलाको कथा बोकेको नाटक ‘श्री बिज्जो भूत’ यतिबेला थापागाउँस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ।
दिवस नाथको लेखन तथा बुद्धि तामाङ र आकाश नेपालीको निर्देशन रहेको नाटकमा स्नेहा जोशीसहित आदित्य मिश्र, सुस्मिता कुँवर, भूमि लुहार, उमेश सुनाम, अग्नि श्री विश्वकर्मा, समृद्धि नेपाललगायत कलाकारको अभिनय छ।
नाटकले २०५० को दशकको सुदूरपश्चिमेली समाज र भारतमा रोजगारीका लागि पलायन भएका पुरुषहरूको पर्खाइमा रहेका महिलाको जीवनलाई केन्द्रमा राखेको छ। गौरी र उनकी आमाले वर्षौंदेखि परदेशिएका बाबुको प्रतीक्षा गरिरहेको कथाबाट सुरु हुने नाटकमा गौरीलाई मुम्बई लैजाने प्रयाससँगै कथा अघि बढ्छ।

स्नेहा जोशीसहित कलाकारहरूले सुदूरपश्चिमको मौलिक लबज, पहिरन र जीवनशैलीलाई अभिनयमार्फत जीवन्त बनाएका छन्। हास्य र करुणालाई सँगसँगै अघि बढाइएको नाटकमा गीत, मौलिक नाच र स्थानीय जनविश्वासले कथावाचनलाई थप प्रभावकारी बनाएको छ।
नाटकको शीर्षकमा रहेको ‘श्री बिज्जो भूत’ डडेलधुराको निङ्लाइ गाउँमा प्रचलित जनविश्वाससँग जोडिएको छ। गलत काम गर्ने व्यक्ति बिज्जो भूतको क्षेत्रबाट उम्कन नसक्ने स्थानीय विश्वासलाई निर्देशकद्वयले कथाको वातावरण र प्रस्तुतीकरणसँग जोड्ने प्रयास गरेका छन्।

सीमित ब्ल्याकबक्स रंगमञ्चमा सुदूरपश्चिमको भूगोल, संस्कृति र तत्कालीन सामाजिक परिवेशलाई प्रस्तुत गर्नु नाटकको अर्को आकर्षण हो। ‘श्री बिज्जो भूत’ले सुदूरपश्चिमको कथा, भाषा र संस्कृतिलाई काठमाडौंको रंगमञ्चमा दर्शकमाझ ल्याएको छ।










१४ आश्विन २०८३, बुधबार १८:२४ 









