काठमाडौँ । नेपाली हास्य अभिनयमा आफ्नै पहिचान बनाएका कलाकार नारायण त्रिपाठी १८ वर्षपछि नेपाली चलचित्रमा फर्किएका छन्। कुनै समय टेलिसिरियल ‘ज्वाई’मार्फत दर्शकमाझ निकै लोकप्रिय बनेका त्रिपाठी लामो समयदेखि अमेरिकामा बस्दै आएका छन्।
अमेरिकामा रहँदा उनले अभिनयसँगै विभिन्न काम र व्यवसाय गरे। सुरुमा रेस्टुरेन्टमा कामदेखि ग्यास स्टेसन, व्यवसाय हुँदै इन्जिनियरिङसम्बन्धी कामसम्मको अनुभव बटुले। तर कलाकारिताबाट टाढा रहँदाको खालीपन भने पटक–पटक महसुस भएको उनी बताउँछन्।
अहिले नेपाल आएका त्रिपाठी चलचित्र ‘चमेलीको पोइ’मार्फत अभिनयमा फर्किएका हुन्। प्रस्तुत छ, आर्टिष्ट खबरका गोपीकृष्ण चापागाईंले त्रिपाठीसँग गरेको कुराकानीको सम्पादित अंश :
लामो समयपछि नेपाल आउँदा र १८ वर्षपछि चलचित्रमा काम गर्दा कस्तो अनुभव भइरहेको छ?
१८ वर्षपछि चलचित्रमा काम गर्न पाउँदा छुट्टै अनुभूति भइरहेको छ। बीचमा नेपाल आउने–जाने भए पनि चलचित्रमा भने लामो समयपछि काम गरेको हुँ। अहिले पुरानै क्षेत्रमा फर्किँदा आफ्नै घरमा फर्किएजस्तो महसुस भइरहेको छ।
तपाईंलाई अहिले पनि धेरै दर्शकले ‘ज्वाई’ भनेर सम्झिन्छन्। ‘ज्वाई’को त्यो लोकप्रियता सम्झिँदा कस्तो लाग्छ?
त्यो समय निकै विशेष थियो। त्यतिबेला अहिले जस्तो डिजिटल मिडिया, युट्युब, फेसबुक केही थिएन। नेपालमा एउटा प्रमुख टेलिभिजन माध्यम थियो। त्यस्तो समयमा ‘ज्वाई’ चरित्र दर्शकमाझ लोकप्रिय हुनु मेरो लागि ठूलो कुरा थियो।
अहिले पनि दशैंको समयमा त्यो सिरियलका पुराना क्लिपहरू दर्शकले हेर्नुहुन्छ। त्यसैले आज पनि कतिपयले मलाई नामभन्दा ‘ज्वाई’ भनेरै चिन्नुहुन्छ। त्यो दर्शकको माया हो।
‘ज्वाई’पछि तपाईंले दर्शकबाट कस्तो माया पाउनुभयो?
त्यो समय दर्शकसँग कलाकारको सम्बन्ध निकै आत्मीय थियो। कतिपय ठाउँमा जाँदा मानिसहरूले खाना खाएको पैसा लिनुहुन्नथ्यो, डुंगा चढ्दा पैसा लिनुहुन्नथ्यो। कलाकारलाई परिवारकै सदस्यजस्तो व्यवहार गर्नुहुन्थ्यो। त्यो माया अहिले सम्झिँदा पनि निकै भावुक बनाउँछ।
यति लोकप्रियताको बीचमा अमेरिका जाने निर्णय कसरी भयो?
अमेरिका जानु सुरुमा रहरभन्दा पनि परिस्थितिका कारण भएको हो। त्यतिबेला म एक्लो थिएँ। पछि विवाह भयो, बच्चाहरू भए, बुवाको निधन भयो। घर–परिवारको जिम्मेवारी थपिँदै गयो। बच्चाको उपचारका लागि पनि ठूलो खर्च आवश्यक भयो। त्यसपछि अमेरिकातिर जाने परिस्थिति बन्यो।
कलाकार भएर चर्चाको शिखरमा पुगेको मान्छे अमेरिका पुगेपछि पहिलो काम के गर्नुभयो?
अमेरिकामा गएर सुरुमा मैले रेस्टुरेन्टमा काम गरेँ। त्यहाँ स्यान्डविच बनाउनेदेखि तरकारी काट्ने, ब्रेड तयार गर्ने, भाँडा माझ्ने, ग्राहकको अर्डर लिने सबै काम आफैं गर्नुपर्थ्यो। कलाकारितामा क्यामेराअगाडि बसेर अभिनय गरिरहेको मान्छे त्यहाँ पुगेर भान्सादेखि काउन्टरसम्म सबै काम गर्नुपर्दा सुरुवात निकै कठिन थियो।
त्यसपछि ग्यास स्टेसनमा पनि काम गर्नुभयो?
हो। रेस्टुरेन्टपछि ग्यास स्टेसनमा काम गरेँ। त्यसपछि विस्तारै व्यापारतिर पनि लागेँ। नेपालबाट सामान लगेर अमेरिकामा बेच्ने काम सुरु गरेँ। व्यवसाय बढाउँदै गएँ र पछि ग्यास स्टेसनसमेत किनेँ। केही समय चलाएपछि त्यो पनि बेचें।
कलाकारिताबाट टाढा हुँदा कहिल्यै ‘मैले गल्ती गरेँ कि?’ भन्ने लाग्यो?
धेरैपटकलाग्यो।खासगरीधेरैदुःखपरेकोबेला ‘कहाँ फसेँ यार, के गरेँ?’ भन्ने लाग्थ्यो। नेपालमा हुँदा कलाकारिताबाट राम्रो नाम थियो। त्यहाँ गएर फेरि सुरुदेखि संघर्ष गर्नुपर्यो। कहिलेकाहीँ पैसा कमाउनु मात्रै जीवन होइन भन्ने पनि महसुस हुन्थ्यो।
अमेरिकामा तपाईंलाई सबैभन्दा ठूलो चुनौती के लाग्यो?
पैसा कमाउनु मात्रै चुनौती होइन, एक्लोपन पनि ठूलो कुरा हो। नेपालमा कलाकार हुँदा दिनमा दर्जनौं मानिस भेटिन्थे। अमेरिकामा काममा जाने, काम गर्ने र घर फर्किने जीवन हुन्छ। नेपाली समुदायबीच भए पनि कलाकारका रूपमा आफ्नो पहिचान जोगाएर काम खोज्नु पनि चुनौती थियो।
तर एउटा कुरा मैले त्यहाँ सिकेँ—काम सानो–ठूलो हुँदैन। आवश्यकता पर्दा जुनसुकै काम गर्न सक्नुपर्छ। अमेरिकामा डाक्टरदेखि पीएचडी गरेका व्यक्तिसम्म विभिन्न काम गरिरहेका हुन्छन्। हामीले पनि कामलाई हेर्ने आफ्नो सोच परिवर्तन गर्नुपर्छ।
अमेरिकामा तपाईंलाई सबैभन्दा ठूलो साथ दिने व्यक्तिमध्ये रवि लामिछाने पनि हुनुहुन्छ। कसरी जोडिनुभयो?
म अमेरिका पुगेपछि सुरुमा रवि लामिछानेकै घरमा बसेँ। उहाँले नै मलाई अमेरिकामा पहिलोपटक काम लगाइदिनुभएको हो। उहाँको स्टोरमा काम सिकेँ। म टाढा रहेको अवस्थामा पनि उहाँले ‘यहाँ आएर बस्नुस्, हामी मिलेर बसौं, काम खोजौं’ भनेर सहयोग गर्नुभयो। करिब सात महिना उहाँकै घरमा बसेँ।
त्यतिबेला धेरै नेपाली कलाकारहरू अमेरिकामा हुनुहुन्थ्यो। नेपाली समुदायबीचको सम्बन्ध र एकअर्कालाई सहयोग गर्ने वातावरणले पनि त्यहाँ बस्न केही सहज भयो।

अमेरिकामा संघर्ष गर्दै गर्दा पनि कलाकारितासँगको सम्बन्ध पूरै टुटेको थिएन हैन?
थिएन। कलाकारिता मनभित्र सधैं थियो। बीचमा विभिन्न कार्यक्रम र सिर्जनात्मक कामसँग जोडिने अवसर पनि पाएँ। अहिले पनि अमेरिकामा बसेर नेपाली कलाकारितासँग जोडिन सकिन्छ भन्ने लाग्छ।
फेरि नेपाली चलचित्रमा फर्किने वातावरण कसरी बन्यो?
‘चमेलीको पोइ’का निर्देशक सुर्य बोहराजीसँग अमेरिकामै चिनजान भयो। उहाँले त्यहाँ कार्यक्रमहरू र स्क्रिप्टिङको काम पनि गर्नुहुन्थ्यो। पछि उहाँहरूले स्क्रिप्ट लिएर नेपाल आएर चलचित्र बनाउन थाल्नुभयो। त्यही सम्बन्ध हुँदै मलाई पनि चलचित्रमा काम गर्ने अवसर आयो।
‘चमेलीको पोइ’मा तपाईंको भूमिका कस्तो छ?
यसमा म कमेडी चरित्रमा छु। ‘ज्वाई’को भन्दा केही फरक किसिमको भिनाजुको भूमिका हो। अलि बदमास, हँसाउने र रोमान्टिक स्वभावको चरित्र छ। चलचित्रमा मेरो मुख्य भूमिकामध्ये एक हो।
१८ वर्षपछि पर्दामा फर्किँदा पुराना दर्शकलाई के भन्न चाहनुहुन्छ?
लामो समयपछि फेरि आफ्ना दर्शकमाझ आउन पाउँदा खुसी छु। मैले पहिले गरेको काम सम्झेर माया गर्ने दर्शकहरूकै कारण आज पनि कलाकारितासँग मेरो सम्बन्ध जोडिएको छ। अब फेरि राम्रो काम गर्न चाहन्छु।
‘चमेलीको पोइ’ कमेडी चलचित्र हो। दर्शकले हलमा गएर हेर्नुहोला। यसपटक पनि पुरानो जस्तै माया पाउने अपेक्षा गरेको छु।
अब फेरि कलाकारितालाई निरन्तरता दिने सोच छ?
कलाकारिता छोडेको होइन। जहाँ बसे पनि नेपाली कलाकारितासँग जोडिन सकिन्छ। अमेरिकामै बसेर पनि नेपाली सिरियल वा अन्य सिर्जनात्मक काम गर्न सकिन्छ। अहिले अवसर मिल्दै गएको छ, त्यसैले अब राम्रो काम गर्ने इच्छा छ।
अन्तिममा, १८ वर्षपछि फर्किएको नारायण त्रिपाठीलाई दर्शकले कसरी हेर्न पाउनेछन्?
पुरानोनारायणलाईसम्झिनेदर्शकलेकेहीनयाँपनिपाउनुहुनेछ।समयसँगैमपनिपरिवर्तनभएकोछु।तरहँसाउनेकामरदर्शकसँगकोसम्बन्धभनेउस्तैराख्नचाहन्छु।लामोसमयपछिआएकोछु, त्यसैले दर्शकको माया र प्रतिक्रिया मेरो लागि सबैभन्दा महत्वपूर्ण हुनेछ।
Video Interview:







१५ आश्विन २०८३, बिहीबार १५:४५ 









