अभिनेत्री मिरुना र फुर्पाबिच मिलापत्र

Posted on: June 01, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । 

प्रदर्शनरत चलचित्र कबड्डी ४मा अभिनय गर्नुभएकी अभिनेत्री मिरुना मगर र फुर्पा तामाङ बीच मिलापत्र भएको छ । जेठ १५ गते सिभिल हलमा आफूमाथि दुव्र्यवहार गरेको भन्दै मिरुनाले तामाङलाई सार्वजनिक स्थानमा थप्पड हानेर प्रहरीको जिम्मा लगाउनु भएको थियो । दुई दिन हिरासतमा विताएपछि मंगलवार छुट्नु भएका फुर्पाले गल्ती स्वीकार गर्दै माफी मागेपछि मिरुनाले भाई सम्झेर माफी दिएको दुई पक्षबाट जारी मिलापत्रमा उल्लेख छ । 

मिरुना र फुर्पाले संयुक्त रुपमा हस्ताक्षर गरेको मिलापत्रमा भनिएको छ, ‘कबड्डी ४: द फाइनल म्याच’को दर्शकसँग साक्षात्कार गर्ने क्रममा सिभिल मलको क्यूएफएक्स हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु घर स्थायी भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी मिरुना मगरसँग माफी मागेको र मिरुना मगरले पनि भाई सम्झेर माफी दिएकी छन् ।’

मिरुनाले कुनै जाती, धर्म, सम्प्रदायप्रति पुग्ने आशयले कुनै कार्य नगरेको भएपनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित भएको घटनाबाट सिंगो बौद्ध धर्मालम्बी, भिक्षु, लामा समुदायमा पर्न गएको असरप्रति क्षमा याचना पनि गरेको पत्रमा उल्लेख छ । मिरुना र फुर्पाले आगामी दिनमा यस विषयमा कुनै विवाद वा टिका–टिप्पणी नगर्ने भन्दै पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता पत्रमा अभिनेत्री मगरको पक्षबाट रामबाबु गुरुङ, दयाहाङ राई, मणिराम पोखरेल, विजय बराल, सन्जोग लाफा मगर, पशुपति राई, कालिप्रसाद बास्कोटाले हस्ताक्षर गर्नुभएको छ । यसैगरी फूर्पा तामाङको पक्षबाट खेन्पो कमल भण्डारी, मिङ्ग्युर तामाङ, राजु गुरुङ, कर्मा राप्के, हिस्से लुन्डुप लामाले हस्ताक्षर गर्नुभएको छ ।  

मिरुनाले फुर्पालाई सार्वजनिक ठाउँमा हातपात गरेको भन्दै मंगलवार बौद्ध धर्मालम्बीहरुले चाबहिलमा मिरुना र ‘कबड्डी ४’ विरुद्ध प्रदर्शन गरेका थिए । मिरुनाले फुर्पासँग माफी नमागे फिल्म चल्न नदिने उनीहरुको चेतावनी थियो । उनीहरुले चलचित्रको पोष्टर समेत जलाएका थिए ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]