पललाई थुनामै राखेर अनुसन्धान गर्ने आदेश

Posted on: June 03, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । 

एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरी कारागारमा रहनुभएका अभिनेता पल शाहको बिषयमा उच्च अदालत पोखराले पनि थुनामै राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ ।

बिहीवार उच्च अदालतका न्यायाधीशद्वय उज्ज्वल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलाशले जिल्ला अदालत तनहुँ र पुर्वी नवलपरासी अदालतको आदेशलाई नै सदर गरेको हो । आदेशमा भनिएको छ, ‘१० चैत २०७८ मा तनहुँ जिल्ला अदालतबाट भएको आदेश वेरितको नदेखिँदा परिर्वतन गरिहनु पर्दैन भन्ने आदेश भएको छ ।’ 

गत चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले शाहलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो । त्यसको केही दिनपछि पूर्व नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो । दुवै जिल्लाको आदेशविरुद्ध पलका वकिलले उच्च अदालत पोखरामा पुनरावेदन चढाएका थिए । 

बिहीवार उच्च अदालत पोखरामा पल शाहको तर्फबाट कमलामोहन वाग्ले, भानुभक्त सुवेदी, माधव घिमिरे, जगदीश पाण्डे र मिलनध्वज शाहीले बहस गरेका थिए भने जाहेरीकर्ताको तर्फबाट सरकारी वकिल ईश्वरीप्रसाद ढकालले बहस गर्नुभएको थियो । शाहविरुद्ध जाहेरी दिने नाबालिग र उहाका पिताले तनहुँ र नवलपरासीको अदालतमा बकपत्र गर्ने क्रममा बयान फेरिसक्नुभएको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]