नेपथ्यले शनिबार काठमाडौंको भृकुटीमण्डवमा भव्य सांगीतिक प्रस्तुति दिने

...
आर्टिष्ट खबर/ पुस, काठमाडौँ । 

चर्चित ब्याण्ड नेपथ्य टोलीले भोली (पुस १६ गते) शनिबार काठमाडौं उपत्यकाको भृकुटीमण्डपमा कन्सर्ट गर्ने भएको छ । मुलुकको पूर्वी कुनादेखि पश्चिम कुनासम्म सातैवटा प्रदेशमा भब्य प्रस्तुतीपछि यस श्रृंखलाकै अन्तिम कन्सर्ट प्रस्तुत गर्न नेपथ्य टोली राजधानी आइपुगेको हो ।भृकुटीमण्डपमा बेलुका चार बजेदेखि कार्यक्रम सुरु गरिने नेपथ्यले जनाएको छ । 

राजधानीको प्रदर्शनका लागि ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको प्रस्तुति रहनेछ। अन्य कलाकारसँगै प्राविधिक र ब्यवस्थापन गरेर ७० जनाको टिमसहित नेपथ्यको प्रस्तुति रहनेछ । ‘नेपथ्य समूहले संगीतबाट मनोरञ्जन मात्र नभइ लोक कल्याणका हिसाबले आफूलाई प्रस्तुत गरेर एउटा उदाहरण बन्नपुगेको छ,’ आयोजक मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले भने, ‘कार्यक्रमलाई भब्य रुपमा प्रस्तुत गर्न आयोजकका हिसाबले सम्पूर्ण तयारी पुरा गरिसकेका छौं ।’

शुक्रबार मानवसेवा आश्रमले राजधानीको रानीबारीस्थित भवनमा नेपथ्य टोलीसँग भेटघाट तथा परिचय आदानप्रदान कार्यक्रम पनि राखेको थियो । त्यस बखत टोलीलाई मानवसेवा आश्रमको रानीबन शाखामा स्वागत तथा सम्मान गरिएको थियो। त्यस अवसरमा मानवसेवा आश्रमका प्रमुख रामजी अधिकारीलगायत पदाधिकारीहरुको उपस्थिती थियो।

अध्यक्ष अधिकारीका अनुसार काठमाडौं कन्सर्टका टिकटहरु भृकुटीमण्डपबाटै धमाधम बिक्री भइरहेका छन्। समयमै टिकट लिएर सिट सुरक्षित गर्न चाहने दर्शकहरुले अनलाइन मार्फत् पनि टिकट काट्न सक्ने उनले बताए । यसपटकको दौडाहा अन्तर्गत नेपथ्यले बिराटनगर, वीरगन्ज, हेटौंडा, चितवन, नेपालगंज, धनगढी,सुर्खेत, बुटवल र पोखरामा आफूलाई प्रस्तुत गरेको थियो ।