चलचित्र ‘छड्के २’ मा भिटेनको र्याप, ‘छक्का पञ्जा ४’ सँग भिड्ने

...

आर्टिष्ट खबर, माघ, काठमाडौँ ।
अनमोल केसीको मुख्य भूमिकामा रहेको चलचित्र ‘छड्के २’ आगामी महिनाको फागुन १९ गते रिलिज हुने भएको छ । चलचित्रको कथाले ग्याङस्टरको भूमिकालाई प्रस्तुत गर्ने कुरा दर्शकहरुले थाहाँ पाएपछि यतिवेला ‘छड्के २’ को सामाजिक सञ्जालमा विशेष चर्चा हुने गरेको छ । उक्त चलचित्रमा अनमोलसँगै रविन तामाङ, कमलमणि नेपाल, रेशा आले लगायतका अन्य कलाकारहरुको अभिनय रहेको छ । 

केही समय अगाडि चलचित्रको लागि सुहाउँदो गीत आवश्यक भएको भन्दै निर्माण टिमले र्यापर भिटेन उर्फ ‘समिर घिंसिङ’ लाई उनकै शब्द तथा संगीतमा रहेको र्याप गीत राख्ने निर्णय गरेको थियो । 

त्यसोत यस अगाडिका चलचित्रमा नायक केसीको चर्चा नहुने गरेको भने होइन ।  उनीसँगै घिंसिङको गीतले चलचित्र कस्तो निर्माण भएको होला, भन्ने विषयलाई लिएर दर्शकहरुमा कौतुहल्ता भएको अनुमान लगाउन सकिन्छ । घिंसिङको गीत रेकर्ड भइसकेता पनि निर्माण टिमले गीतको लय बारे कुनै जानकारी गराएको छैन । 

३ वर्ष अगाडि सुमि मोक्तानको मुख्य अभिनयको रुपमा रहेको चलचित्र ‘सरौतो’ मा आफनो गीतसँगै देखिएका घिंसिङ अहिले दोस्रो पटक अनमोलसँग ‘छड्के २’ मा प्रस्तुत भएका छन् । यसअघि चलचित्र ‘रत्नपार्क’ मा साइन गरेका घिंसिङको उक्त चलचित्र बन्ने नबन्ने बेखबर बनेको छ । 

प्रशान्त गीरी र देवकुुमार श्रेष्ठले निर्माण गरेको चलचित्र ’छड्के २’ बहुप्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ४’ सँग भिडन्त गर्ने भएको छ ।  फागुन १९ मा रिलिज हुन लागेको ‘छक्कापञ्जा ४’ चलचित्रका निर्देशक हेमराज विसी रहेका छन् । प्रदर्शनको अन्तिम समयमा गएर प्रदर्शन मिति परिवर्तन हुन्छ या हुँदैन त्यो भने बिस्तारै समयले बताउनेछ ।