आफैंलाई आगो लगाएका आचार्यको मृत्यु, कलाकार भन्छन्- कसलाई कारबाही हुन्छ ?

...

माघ, काठमाडौँ । हिजो (मंगलबार) दिउँसो संघीय संसद् भवनअगाडि आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको आज बिहान मृत्यु भएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यले मंगलबार संसद भवन अगाडि शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका थिए । आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्‍याएको थियो ।उनको शरीरको ८० प्रतिशतभन्दा धेरै भाग जलेको थियो ।

कलाकारहरुको चिन्ता
आचार्यको मृत्युलाई लिएर कलाकारहरुले चिन्ता ब्यक्त गरेका छन् । मृत्यु भएसँगै सामाजिक सञ्जालमार्फत केहि कलाकारले आत्महत्याको दुरुत्साहन गर्ने कोहो र कसलाई कारबाही हुन्छ भनेका छन् । म्युजिक भिडियोका निर्देशक तथा कलाकार दीपक आचार्य (काकु)ले आफ्नो फेसबुकमा आत्महत्या दुरुत्साहनको अभियोगमा क कस्लाइ पक्राउ गरि कारबाही हुन्छ भन्दै आफू हेर्न आतुर रहेको लेखेका छन् । उनले लेखेका छन्, ‘पहिलो कुरा प्रेम प्रसाद आचार्यको मृत्युमा आत्महत्या दुरुत्साहनको अभियोगमा क कस्लाइ पक्राउ गरि कारबाही हुन्छ ? हेर्न आतुर छु ।’ 

यस्तै चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलले आक्रोशको ज्वालामुखी छ, भन्न धेरै मन छ तर अहिले सकीरहेको छैन, स्तब्ध छु भन्दै श्रृद्धान्जली ब्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर आत्महत्या प्रयास गरेका प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको आज बिहान मृत्यु भएको हो । आक्रोशको ज्वालामुखी छ, भन्न धेरै मन छ तर अहिले सकीरहेको छैन, स्तब्ध छु । हार्दिक श्रद्धांजलि ।’