प्रदिप खड्काको नयाँ चलचित्र ‘कामिनो’ को थिम पोस्टर सार्वजनीक

...

माघ, काठमाडौँ । नयाँ चलचित्र ‘कामिनो’ को थीम पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा युवास्टार प्रदिप खड्काको मुख्य भूमिका रहनेछ । चलचित्रलाई दीपक ओलीले निर्देशन गर्नेछन् । 

एक्सेस नेपाल फिल्मस्को निर्माण, पूर्ण लामा कृएटिभ डिरेक्टर र सुनील बिष्ट गौली कार्यकारी निर्माता रहेको चलचित्रको स्क्रिप्ट महेश दवाडीले लेखेका हुन् । अभिनेता प्रदिपलाई आफ्नो चलचित्रमा अभिनय गराउन निर्माता, निर्देशकहरु लालायीत हुने गरे तापनि ‘प्रेम गीत–३’ पछि उनले कुनै चलचित्र साइन गरेका थिएनन् । स्क्रिप्ट, टिम र क्यानभास मन परेकाले प्रदिप यो चलचित्र गर्न राजी भएको बताईएको छ । प्रदिप र ‘कामिनो’ निर्माण पक्षबीच गत शुक्रबार औपचारिक सम्झौता भएको थियो । 

नेपाल र ल्याटिन अमेरिकाका बिबिध स्थानमा छायांकन हुने चलचित्र प्रेम, रोमान्स र सस्पेन्सले भरिएको निर्देशक ओलीले बताएका छन् । चैत्र तेश्रो साताबाट छायांकन गर्ने लक्ष्य राखिएको चलचित्र सौरभ लामाले खिच्ने छन् । चलचित्रमा एसडि योगी र अलिस कार्कीको संगीत,सम्राट बस्नेतको द्धन्द्ध निर्देशन र दिनेश प्रकाश महराको प्रोडक्शन डिजाइन रहेको छ । दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको चलचित्रको सहायक निर्देशकमा अमृतमान ओली छन् । स्क्रिप्ट लेखनमा लेखक दवाडीलाई कुञ्जन भट्टराईले सघाएका छन् । 

चलचित्रको मुख्य अभिनेत्री लगायत अन्य कलाकार तथा प्राबिधिक चयन कार्य छिट्टै समापन गर्ने तयारी निर्माण पक्षको छ ।