‘दयाहाङ र प्रकृतिको ‘बिहे पास’ पनि नयाँ बर्षमा आउने

...

माघ, काठमाडौँ । दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर चलचित्र ‘बिहे पास’ पनि आउँदो नयाँ बर्षमै प्रदर्शन हुने भएको छ । चलचित्रको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको हो । नयाँ बर्ष २०८० को बैशाख १ गते प्रदर्शन हुने चलचित्रको श्रीपञ्चमीको अबसर पारेर बिहीबार दर्शकमाझ दुई डिजाइनका पोस्टर ल्याइएको हो । एउटा पोस्टरमा दयाहाङ र प्रकृतिलाई मात्र प्रस्तुत गरिएको छ भने अर्काे पोस्टरमा उनीहरुको साथमा बुद्धि तामाङ,शिसिर वाङ्देल र रबिन्द्र झा देखिन्छन् । 

सामाजीक कथानक चलचित्रका रुपमा बताइदै आइएको ‘बिहे पास’ प्रबेश पौडेलको निर्देशनमा रोहित कटेल र रत्न श्रेष्ठले निर्माण गरेका हुन् । पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको चलचित्र आरआर फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । चलचित्र बितरणमा आफ्नो बचश्र्व कायम राखेको आरआर फिल्मस्ले यसअघि ‘कृष्ण लीला’ निर्माण गरेको थियो । 

रोहित कटेलको प्रस्तुति, रत्न श्रेष्ठ कार्यकारी निर्माता, रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सहनिर्माता रहेको चलचित्रमा श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् । शिब ढकालले खिचेको चलचित्रका गीतमा प्रबेश मल्लिकको संगीत,डिपी खनालको गीत, शैलेन्द्र प्रधानको पाश्र्व संगीत छ । रामजी लामीछानेको कोरियोग्राफी रहेको चलचित्र मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको कथा रहेको चलचित्रको पटकथा र सम्वाद भने आकाश र सजनले तयार पारेका हुन् । 

निर्माण पक्षले ‘बिहे पास’ लाई नयाँ बर्ष २०८० को कोसेली स्वरुप दर्शकमाझ पस्कन लागेको जनाएको छ । 

बैशाख १ मा महाभिडन्त
नयाँ बर्षको बैशाख १ कै लागी यसअघि ‘भगवत् गीता’, ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’ र ‘जारी’ले प्रदर्शन मिति तोकिसकेका छन् । अब ‘बिहे पास’सँग पाँच नेपाली चलचित्र एकैसाथ भिड्ने भएका छन् । अझ अर्को रोचक कुरा चलचित्र जारीमा पनि अभिनेता दयाहाङ राईको अभिनय रहेको छ । बुझिए अनुसार दयाहाङ आफ्ना दुई चलचित्रको प्रदर्शन मिति जुधाउने पक्षमा थिएनन् तर निर्माण पक्षले प्रदर्शन मिति तोकिसकेको छ । 
अहिले एकसाथ पाँच चलचित्रले एकै प्रदर्शन मिति तोकेपनि प्रदर्शन मिति फेरबदल नहोला भन्न सकिन्न ।

०००