सर्ट फिल्म प्रतिस्पर्धा हुने, विजेता फिल्मलाई २ लाख

...

माघ, काठमाडौँ । म्युजिक नेपाल र नेपाल फिल्म क्याम्पसको संयुक्त आयोजनामा सर्ट फिल्म कम्पिटिसन हुने भएको छ । बिहीबार नेपाल फिल्म क्याम्पसमा आयोजित औपचारिक कार्यक्रममा फिल्म निर्माण रुचि भएर पनि प्लेटफर्मको खोजीमा रहेका फिल्मकर्मीलाई लक्षित गरी प्रतिस्पर्धा गर्न लागिएको जानकारी गराइएको थियो । 

बिहीबारदेखि नै सहभागिताका खुल्ला गरिएको प्रतिस्पर्धामा फिल्म निर्माणमा रुचि भएका जोकोहीले पनि भाग लिन सक्ने कार्यक्रममा जानकारी गराइएको थियो । कार्यक्रममा बोल्दै नेपाल फिल्म क्याम्पसका प्रमुख शिशिर उप्रेतीले अवसरको खोजीमा रहेका फिल्मकर्मीका सर्ट फिल्म कम्पिटिसन गतिलो प्लेटफर्म बन्न सक्ने विश्वास व्यक्त गरे । उनले धेरै लगानी गरेर फिल्म बनाउन गाह्रो हुनेका लागि यस्ता प्रतिस्पर्धा वरदान हुनसक्ने भन्दै सहभागिताका आव्हान गरे ।

सर्ट फिल्म कम्पिटिसिनमा निर्णायकको भूमिका अनुप बराल, सुरक्षा पन्त र सुजित बिडारीले गर्नेछन् । कार्यक्रममा बोल्दै अनुप बरालले सर्ट फिल्मलाई बिरुवाको सानो रुपको रुपमा व्याख्या गर्दै सर्ट लम्बाइको हिसाबले सानो भए पनि सानो बनाउन झन् ठूलो मेहनत लाग्ने धारणा राखेका थिए ।

प्रतिस्पर्धामा सहभागी हुन चाहने फिल्मकर्मीले फागुन ३० सम्म कथासार बुझाउनु पर्नेछ भने चैत १७ भित्र स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी आएका स्क्रिप्टलाई निर्णायकद्धारा ३ दिन प्रशिक्षण दिइनेछ र यो पश्चात् पुनर्लेखन गरी आएका स्क्रिप्टमध्येबाट १० स्क्रिप्ट छानेर निर्माण सहायता प्रदान गरिनेछ । छानिका १० फिल्मले निर्माणका लागि ७५ हजार नगद प्राप्त गर्नेछन् ।

यो प्रक्रियापछि निर्माण भएर आएका फिल्ममध्ये पहिलो बन्नेले २ लाख नगद प्राप्त गर्नेछ भने बाँकी अन्यले विधागत रुपमा नगद पुरस्कार पाउनेछन् । आयोजकका अनुसार स्क्रिप्ट तथा निर्देशनमा उत्कृष्ट हुनेले ५० हजार प्राप्त गर्नेछ भने अभिनय, छायांकन, सम्पादन र ध्वनिमा उत्कृष्ट काम देखाउनेले पनि समान ५० हजार नगद प्राप्त गर्नेछन् ।