अपडेटः प्रमोदको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्यधिक भीड भएको थियो

...

माघ, धनकुटा । धनकुटा महोत्सवमा शनिबार राति हुलमुलमा परि घाइते हुनेको संख्या ३० पुगेको खुल्न आएको छ । ती मध्ये १८ जनालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । प्रतिष्ठानमा उपचार हुन नसकी दुई बच्चालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको बताइएको छ । 

हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड
महोत्सव आयोजक संस्था उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय सन्तोषी राईका अनुसार गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिङ्गो’ खेलका कारण अत्याधिक भीड भएको थियो । सोहिक्रममा महोत्सवको मुलगेटबाट धेरै मान्छे एकैपटक प्रवेश गर्ने क्रममा उक्त घटना भएको हो । उनले सबैसँग छलफल गरेर विधिवत् रुपमा महोत्सवको स्थगन गरिने जानकारी दिएका छन् ।
सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन् । यही माघ ६ गतेदेखि जारीे प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम रहेको थियो ।

dhakuta.jpeg

घाइतेहरुको नामावली
घाइते हुनेमा धनकुटा नगरपालिका –५ बस्ने ३१ वर्षीया विष्णु राई र उनकी छ वर्षीया छोरा आबिहाङ लिम्बू, ३० वर्षीया बिनिता लिम्बू, वर्ष १३ का सविन लिम्बू, वर्ष ११ का सुनिल लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनपा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हिरा राणा, ३० वर्षकी आयुषा राई, वर्ष ५० का प्रकाश प्रधान र धनपा ४ का १२ वर्षीया प्रवेश राई रहेका छन् ।

यसैगरी अन्दाजी ४५ वर्षकी गोमा कार्की, २३ की अनिषा राई, वर्ष ४२ का नारायण राई, वर्ष ३४ की बुद्धिमायाँ लिम्बू, वर्ष १८ का सविन पौडेल, वर्ष ४२ का सन्दिप शाह, नाम नखुलेको करिब तीन/चार वर्षका एक बालक रहेका छन् ।

 

तस्बिरः धनकुटा न्युज