चलचित्र ‘फूलबारी’को पाँच शहरमा प्रमोसन अभियान

...

माघ, काठमाडौं । रामबाबु गुरुङले निर्देशन गरेको नयाँ चलचित्र ‘फूलबारी’ले पाँच शहरमा प्रमोसन अभियान सुरु गरेको छ । चलचित्रले कलेज क्याम्पियन, पब्लिक इभेन्ट र मिट एण्ड ग्रिट जस्ता प्रमोसन कार्यक्रम शुरु गरेको हो ।

फिल्म प्रमोसन कार्यक्रमको आयोजक तथा व्यस्थापक पीभीइ नेटवर्कका अनुसार गत शुक्रबारदेखि बुटवलबाट सुरु प्रमोसन माघ २१ गतेसम्म चल्नेछ । यो समयावधिमा चलचित्र युनिट पोखरा, चितवन, इटहरी र बिर्तामोडसम्म पुग्नेछन् । टिममा प्रियंका कार्की, विपिन कार्की, शिल्पा मास्के, संगीतकार तथा गायक कालीप्रसाद बासकोटा लगायत छन् ।

गत शुक्रबार फिल्म युनिटले बुटवलको मणि मुकुन्द कलेज, सिद्धार्थ गौतम कलेज, न्यू होराइजोन र कुँवरवर्ती इङ्लिस बोर्डिङ स्कुलमा फिल्मको प्रमोसन गरेको थियो । कलाकारलाई कलेजका विद्यार्थीलाई चलचित्रका गीतका तथा गायक कालीप्रसाद बासकोटाले गाएको फिल्मको गीत ‘माया रहेछ र’ गाएर स्वागत गरेका थिए ।

बुटवलकै गोलपार्कमा फिल्मकै थिममा आधारित रहेर तयार पारिएको स्टेजबाट कलाकारले दर्शकसँग अन्तरक्रिया गरेका थिए । कार्यक्रमको सुरुवातमा कालीले ‘पारी त्यो डाँडा’, ‘जैले रिसाउने’ र चलचित्रको गीत ‘माया रहेछ र’ सुनाएका थिए ।

कलेज र सार्वजनिक स्थानमा कार्यक्रमको कार्यक्रममा पाँच हजार बढी दर्शकको उपस्थित थियो । मिट एण्ड ग्रिट चाहिँ द कन्सेप्ट बारमा गरिएको थियो । लामो समयपछि यो बार दर्शकले भरिएको थियो । फिल्म युनिटले आइतबार पोखरा, मंगलबार चितवन, बिहीबार इटहरी र शुक्रबार बिर्तामोडमा कार्यक्रम गर्दैछ ।

चलचित्रका निर्माता मनीष ढकालका अनुसार निश्चित सहरको उच्च जनसंख्याका आधारमा कलेज गन्तव्य चयन गरिनेछ । व्यवस्थापक पीभीइले दैनिक जीवनमा देखिरहेका कार्यक्रमभन्दा मिट एण्ड ग्रिटमा ‘फूलबारी’ टिम फरक रुपमा प्रस्तुत भई नेपाली फिल्म उद्योगका लागि नयाँ मानक स्थापित गर्ने दाबी गरेको छ । यसमा कलाकारले दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्नेछन् ।

चलचित्रमा विपिन कार्की, दयाहाङ राई, प्रियंका कार्की, मनीष ढकाल र शिल्पा मास्केलगायतको अभिनय छ । फिल्मले कसरी पुस्ता अन्तरले परिवारका सदस्यबीच समस्या सिर्जना गर्छ भन्ने देखाएको छ । चलचित्र आगामी फागुन ५ गतेबाट प्रदर्शन हुने तयारीमा छ ।