‘छक्का पञ्जा ४’को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक

...

माघ, काठमाडौँ । प्रतिक्षित चलचित्र ‘छक्का पञ्जा ४’को पहिलो गीत सार्वजनिक गरिएको छ । आउँदो फागुन १९ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको सार्वजनिक ‘दर्शन सलाम’ बोलको गीतमा डेभिड शंकर र सहिमा श्रेष्ठको स्वर छ भने राजेन्द्र थापाको शब्द रचना र दीपक शर्माले संगीत भरेका छन् । चलचित्रलाई हेमराज विसीले निर्देशन गरेका हुन् । गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ ।  

चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदार घिमिरे, बुद्धि तामाङ, राज आचार्यका साथमा अभिनेत्री स्वस्तिमा खड्काले गीतमा नृत्य गरेका छन् । गीतमार्फत् दीपकराजको चरित्र चित्रण समेत गरिएको छ । 

नेताको भूमिकामा रहेका दीपकले गीतको अन्तिममा मतमेटिका र निर्वाचन अधिकृतलाई कब्जा गरेको दृश्य समावेश छ । चलचित्रमा पटकथा तथा संवाद दीपकराज गिरीको रहेको छ । चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, निमेष श्रेष्ठको सम्पादन छ ।