‘द अनब्रेकेबलः अगस्त्य’मा नाजिर र मलिका अनुबन्धित

...

माघ, काठमाडौंँ । नयाँ चलचित्र ‘द अनब्रेकेबलः अगस्त्य’ का लागि अभिनेता नाजिर हुसेन र अभिनेत्री मलिका महत अनुबन्धित भएका छन् । सौरभ चौधरीको निर्देशन रहने यो चलचित्रमा नाजिर र मलिकाको मुख्य भूमिका रहनेछ  । निर्माण टिमले चलचित्रको पोष्टर सार्वजनिक गरेको छ । पोष्टरमा नाजिर र मलिकालाई देखाइएको छ । पोष्टर सार्वजनिकसँगै चलचित्रका मुख्य कलाकार चिनाइएको हो । 

दुई च्याप्टरमा निर्माण हुने चलचित्रका लागि केही अगाडि अभिनेता सौगात मल्ल अनुबन्धित भएका थिए । सौगात, नाजिर र मलिकाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ ।

यी तीनै जना कलाकारले पहिलो पटक एक अर्कासँग काम गर्न लागेका हुन् । तर, मलिका चलत्रित्रमा कसको जोडी बनेर देखिनेछिन्, त्यो भने खुलाइएको छैन । फिल्ममा सौगात र नाजिर एक्सन भूमिकामा देखिनेछन् ।

चलचित्रको कथा निर्देशक स्वयंको हो । उनले दुवै च्याप्टरको कथा तयार पारिसकेका छन् । चलचित्रलाई प्रकाश मल्ल र अनिष तामाङले निर्माण गर्नेछन् । डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको नेपालमा काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायांकन हुनेछ । चलचित्रको छायांकन राजेश श्रेष्ठ हुन् । चलचित्रका लागि अन्य कलाकारहरु पनि चाँडै अनुबन्धित गरिने निर्देशक चौधरीले बताए ।

चलचित्रमा नेपालीसँगै भारतका केही नाम चलेका कलाकारको पनि अभिनय रहनेछ । चाँडै भारतीय कलाकारसँग सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । आगामी बैशाख अन्तिमबाट सुटिङ सुरु गर्न लागिएको चलचित्रको शीर्षक हिन्दु धर्मका सप्तऋषि मध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो ।