दयाहाङ र मिरुनाको ‘जारी’ टिजर सार्वजनिक

...

माघ, काठमाडौँ । आउँदो नयाँ बर्षको बैशाख १ गतेबाट प्रदर्शन हुने तयारीमा छ चलचित्र ‘जारी’ । यसै चलचित्रको टिजर सार्वजनिक गरिएको छ । यो चलचित्रलाई सफल चलचित्र सिरिज ‘कबड्डी’ कै टिमले निर्माण गरेको हो । त्यसकारण पनि बिशेषरुपमा हेरिएको छ । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको मुख्य भूमिका छ । यी दुई श्रीमान–श्रीमतीको भूमिकामा छन् ।  

मंगलबार सार्वजनिक झण्डै तीन मिनेटको टिजर बिशेष लाग्न सक्छ । टिजरमा लिम्बु समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । लिम्बु समुदायमा गाइने ‘पालाम’लाई कथावाचनको रुपमा प्रयोग गरिएको टिजरमा एक लिम्बु दाम्पतीको कथा भनिएको छ ।

श्रीमान र श्रीमती बिचको प्रेम र घरायसी झगडालाई चलचित्रमा प्रस्तुत गरिएको छ । रामबाबु गुरुङ निर्माता रहेको चलचित्रलाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । जारी प्रथामाथि आधारित रहेको चलचित्रमा विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रेम सुब्बालगायतको पनि अभिनय छ । 

सैलेन्द्र डि कार्कीको छायांकन रहेको चलचित्रमा निमेश श्रेष्ठको सम्पादन छ ।