दीपेन्द्रको ‘नांगो गाउँ’मा सहकार्य गर्दै साम्राज्ञी र कर्म

...

फागुन, काठमाडौँ । निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको चलचित्र ‘नांगो गाउँ’मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक कर्मको प्रवेश भएको छ । उनीहरुसँग निर्माणपक्षले सोमबार कागजी संझौता गरेको हो । चलचित्रमा आफूहरुको भूमिका निकै मन परेर जोडिएको दुबै कलाकारले बताएका छन् । नेपाली चलचित्र क्षेत्रका यी दुई चर्चित कलाकारले पहिलो पटक एकसाथ काम गर्न लागेका हुन् ।

यो चलचित्रमा यसअघि नै नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भैसकेका छन् । योसँगै निर्माणपक्षले कलाकारको लाइनअप पुरा गरेको छ ।

आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शिशिर वाङ्देल, रविन्द्र झा, वुद्दि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकार पनि फाइनल भैसकेका छन् । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको छायांकन फागुनको अन्तिम साताबाट सुरु हुनेछ । चलचित्रलाई काभ्रेमा खिचिनेछ । यो चलचित्रमा हिमाल शर्माको लगानी छ ।  

निर्देशक लामाले भने–‘मलाई साम्राज्ञी र कर्मसँग पहिलेदेखि नै काम गर्ने रहर थियो । यसपटक भूमिका पनि दुबैलाई सुहाउने भएपछि सहकार्य गर्ने अवसर जुटेको छ ।’ निर्देशकीय हिसाबले लामाको यो पाँचौ फिल्म हो । यसअघि उनले ‘घामपानी, गोपि, छ माया छपक्कै र २ नम्बरी’ निर्देशक गरिसकेका छन् । ‘२ नम्बरी’ यो बर्षको सुपरहिट फिल्म हो ।