‘निफ’को सल्लाहकारमा नम्रता श्रेष्ठ

...

फागुन, काठमाडौँ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सल्लाहकारमा अभिनेत्री नम्रता श्रेष्ठ मनोनीत भएकी छिन् । चलचित्र छनौट क्षमता र अभिनय कलाको तारिफ योग्य रहेको भन्दै श्रेष्ठलाई निफले सल्लाहकारमा मनोनीत गरेको हो । श्रेष्ठ डेढ दशकदेखि नेपाली चलचित्रमा सक्रिए छिन् । 

आउँदो चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) आयोजना हुनेछ । यस बर्ष ‘निफ’मा छनौट भएर दोस्रो चरणमा आइपुगेका ३५ देशका ९५ लामा, छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र मध्येबाट ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । ‘निफ’मा एक दर्जन जति रचनात्मक कार्यक्रम (गोष्ठी, अन्तरक्रिया) समेत आयोजना गरिने छ । आयोजक निफका अध्यक्ष के.पी. पाठकले जारी गरेको बिज्ञप्तीमा लेखिएको छ, ‘यी सबै कार्यक्रममा सल्लाहकारको हैसियतमा अभिनेत्री श्रेष्ठको सक्रियता रहने हामीले विश्वास लिएका छौं ।’ 

‘निफ’को प्रमुख सल्लाहकारमा अभिनेता तथा निर्देशक निर शाह छन् । यस्तै अभिनेता सुनिल थापा, निर्देशक छिरिङ रितार शेर्पा र भारतीय फिल्मका ख्यातिप्राप्त लेखक तथा समीक्षक प्रेमेन्द्र मजुमदार सल्लाहकारको रुपमा छन् ।