फिल्ममा चुईगम हैन चप्पल पड्काउने क्यारेक्टरमा काम गर्न चाहन्छिन् अन्जली

...

फागुन, काठमाडौँ । नेपाली म्युजिक भिडियोको क्षेत्रमा ६ सय बढी भिडियोमा काम गरिसकेकी मोडल अन्जली अधिकारीले आफूलाई सुहाउने क्यारेक्टरको स्क्रिप्ट पाए चलचित्रमा काम गर्ने बताएकी छिन् । उनले आफूलाई दर्शकले जुनरुपमा मन पराइरहेका छन् त्यो रुपमै चलचित्रमा देखिन मन लागेको बताइन् । 

बिहीबार आर्टिष्ट खबरसँगको कुराकानीमा अन्जली भन्छिन्, ‘मलाई दर्शक तथा स्रोताले जुन रुपले मन पराउनुभयो । त्यो क्यारेक्टरका लागी चलचित्रबाट अफर आइरहेको छैन । अफर त आए तर मलाई सुट नहुने क्यारेक्टरबाट आफर आएका छन् । म यति पैसा चाहिन्छ भन्ने डिमाण्ड गर्ने कलाकार हैन तर मैले सक्छु भन्ने कन्फिडेन्ट र मलाई यो क्यारेक्टर पर्फेक्ट हुन्छ भन्ने त हुनुपर्यो नि ।’ 

अन्जलीले शहरिया केटी भन्दा पनि गाउँकै सिम्पल केटीको भूमिकामा आफूलाई अभिनय गर्न मन लागेको बताउँछिन् । उनले अघि भनिन्, ‘मलाई चुईगम पड्काएर छोटा कपडा लगाउने भन्दा चप्पल पड्काउने क्यारेक्टरको चलचित्रमा काम गर्नु मन छ । अन्जलीले अहिलेसम्म आफूलाई चार वटा चलचित्रबाट अफर आएको बताएकी छिन् ।’ उनलाई केहिसमय अघि गोपिकृष्ण मुभिजको तर्फबाट पनि चलचित्रका लागी अफर गएको थियो । तर आफूलाई सुहाउने भूमिका नभएपछि नगरेको उनी बताउँछिन् । 

अन्जली अहिले पनि म्युजिक भिडियो क्षेत्रकी निकै लोकप्रिय मोडल हुन् । उनले बिशेषगरी लोक तथा दोहोरी गीतका भिडियोमा अभिनय गरेकी छिन् । लोकप्रिय लोकगायक प्रकाश सपुतको ‘बोलमाया’, ‘गलबन्दी’ लगायतका गीतमा पनि उनको अभिनय रहेको छ । 

Video Interview: Coming Soon…