योगमायामाथि बृत्त चलचित्र निर्माण

...

फागुन, काठमाडौँ । महिला साधक ‘योगमाया’को जीवनमा आधारित बृत्तचित्र फिल्म (योगमाया) निर्माण हुने भएको छ । यो फिल्मको काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरिएको छ ।  
यो बृत्तचित्रलाई भीमादेवी मल्टी क्रियशन प्रा.लि. र आरम्भ नेपालले संयुक्त रुपमा निर्माण गर्ने भएको छ । योगमाया बृत्तचित्र फिल्मका लागि कलाकारहरु सन्देश बसौला, नुभिषा उप्रेती, राजकुमार, बासुदेब खनाल, रुद्र गुर्माछान मगर, सरिता राजोपाध्याय, मिश्री थापालगायतका कलाकारहरु चयन भएको यो बृत्तचलचित्रको घोषणा समारोहमा जानकारी गराईयो ।

योगमाया बृत्तचलचित्रसँगै कार्यक्रममा नुभिव फाउन्डेसनको पनि घोषणा गरियो । निर्देशक भिमा मैनालीको दिवँगत छोरा कलाकार नुभिव उप्रेतीको जन्म जयन्तीको अबसर पारेर सो फाउन्डेसनको घोषणा गरिएको हो । 
मानव शास्त्रीय अनुसन्धानमा आधारित योगमायालाई शुरुमा बृत्तचित्र र त्यसपछि चलचित्रको रुपमा निर्माण गरिने अनुसन्धानकर्ता तथा निर्देशक भिमा मैनालीले कार्यक्रममा बताईन् । राणा शासनको बेला स्वतन्त्रताको लागि योगमायाले बृहत सँघर्ष गरेर जलसमाधिसमेत लिएकाले यो बृत्तचलचित्र उनकै सँघर्षकथामा केन्द्रित रहने पनि निर्देशक भिमाले बताईन् ।

यस्तै आफ्नो किशोराबस्थाको छोरा नुभिव उप्रेतीको कलेजबाट अपहरणपश्चात हत्या भएकाले यस्तो हत्या अरुको नहोस भनेर अभियानका लागि नुभिव फाउन्डेसनको स्थापना गरिएको पनि भिमाले बताईन् । बाल कलाकारको रुपमा चर्चा कमाएका नुभिवको काठमाडौंको एक कलेजबाट अपहरण पश्चात पोखरामा हत्या भएको अबस्थामा शब भेटिएको थियो ।

DSC_4338.JPG
योगमाया बृत्तचलचित्र घोषणा समारोहमा बोल्दै अग्रज निर्देशक यादव खरेलले भने,‘बिगत दुई दशकदेखि अभिनयमा आफ्नो छुट्टै परिचय बनाएकी भिमाले योगमायामाथि पनि यथार्थपरक चलचित्र बनाउनेमा म विश्वस्त छु ।’ 

अग्रज कलाकार तथा निर्देशक लय सँग्रौलाले कार्यक्रममा बोल्दै भने,‘मैले धेरैवटा टेली फिल्ममा बालकलाकारको रुपमा अभिनय गराएका नुभिवको एकवर्षअघि अपहरणगरी हत्या भएको खबरले अहिलेसम्म पनि म दुःखी छु । यो प्रकरणका अपराधीहरुलाई चाँडो भन्दा चाँडो कारवाही होस भन्ने म माग गर्दछु ।’ आफ्नो कलाकारलाई गुमाउँदाको पीडा सम्झेर उनी कार्यक्रममा भावुक भए ।

यस्तै साहित्यकार निनु चापागाईंले योगमाया आयुर्वेदिक विश्व विद्यालयको स्थापनाका लागि आफुहरुले काम गरिरहेको बेला उनको जीवनीमा आधारित बृत्तचलचित्र निर्माण हुँदै गरेको कुराले हर्षित भएको बताए । योगमायाले त्यतिबेलाको नेपाली समाजमा अग्रणी भूमिका निर्वाह गरेकोबारे पनि चापागाईंले कार्यक्रममा चर्चा गरे ।
त्रिभुवन विश्व विद्यालयका प्राध्यापक सुरेश ढकालले कार्यक्रममा भने,‘योगमायामाथि भिजुअल एन्थ्रोपोलोजीमा एम फिल गर्दैगरेकी भिमाले योगमायामाथि नै अनुसन्धानमुलक चलचित्र बनाउन लागेको कुराले हामी खुसी छौं । यो सार्थ फिल्म बनोस भन्ने कामना गर्दछु ।’

अचेल समुहले संयोजन गरेको सो कार्यक्रममा योगमायाको बारे गरिएको स्थलगत रिपोर्टिङमा आधारित छोटो  बृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।