वरिष्ठ लोकगायक राजेन्द्र लम्सालको युरोपमा निधन

...

फागुन, काठमाडौँ । वरिष्ठ लोकगायक राजेन्द्र लम्सालको निधन भएको छ । युरोपमा बस्दै आएका ६० बर्षिय राजेन्द्रको गएराती निधन भएको उनका भान्जा गीतकार तथा संगीतकार शिव हमालले जानकारी दिए । राजेन्द्र अहिलेका लोकप्रिय मोडल सागर लम्साल (बले)को बुबा हुन् । 

हमालका अनुसार राजेन्द्र पहिल्यै देखी बिरामी थिए । ‘कलेजोले काम गर्न छाडिसकेको थियो । पछिल्लो समय पिसाब सम्बन्धि समस्या देखिएको थियो ।’ हमालले भने, ‘अहिले उहाँको अन्त्येष्टिका लागी के गर्ने भन्ने कुरामा परिवारसँग छलफलमै छौं ।’ छोरा सागर अहिले पोखराबाट काठमाडौँ आउँदैछन् । राजेन्द्रका सागर सहित ३ छोरा र १ छोरी छन् । 

राजेन्द्र लोक क्षेत्रका पुराना गायक हुन् । उनले गाएका दर्जनौं गीत लोकप्रिय छन् । ‘डोरीको तिन फुदा’, ‘वालिङ्ग फिरफिरे’, ‘शिरमा रिवन सल्को पछ्यौरी’, ‘भिरको टुनि हो’, ‘मस्र्याङदीको पुल’, ‘आमा तिम्रो दुधको भारा’, ‘राईनासकोटको भिर’, ‘निलो पछ्यौरी’ लगायतका लोकप्रिय गीत हुन् । 

स्व. राजेन्द्रलाई सामाजिक सञ्जालबाट बिभिन्न कलाकर्मिले श्रृद्धान्जली दिइरहेका छन् । लोकप्रिय गायिका शिला आलेले आफूले बाल्यकालबाटै उहाँको आवाज सुन्दै आएको भन्दै लेखेकी छिन्, ‘बाल्यकालमा उहाकै आवाजका गीतहरु सुनेर गाउने प्रेरणा मिल्यो, सार्है मिठो आवाज अनि मृदभाषी आदरणीय दाजु राजेन्द्र लम्सालको अल्पायु मै भएको निधनले स्तब्ध भएको छु ।’ यस्तै लोकप्रिय लोकगायक रामजी खाँडले पनि श्रद्दान्जली दिएका छन् । 

 

*सच्याइएको