‘हल्कारा टिजर सार्वजनिक

...

फागुन, काठमाडौँ । अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’को टिजर सार्वजनिक गरिएको छ । आउँदो सालको वैशाख २९ लाई प्रदर्शन मिति घोषणा गरेको चलचित्रले पौने दुई मिनेट लामो टिजरमार्फत कथा वैदेशिक रोजगारी सिर्जित समस्यालाई नयाँ कोणबाट वाचन गर्ने प्रयास गरेको छ ।

मुख्य पात्र महेश त्रिपाठीको न्यारेसनमा बगेको टिजरले सशक्त दृश्य भाषा र उही स्तरको कलाकारको अभिनयको छनक दिएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भूमिका रहेको छ । 
चलचित्रमा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन् । 

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । 

यसैगरि चलचित्रनेपाल–अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनौट भएको थियो । 

यो फिल्ममा महेश र बिनिताबाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।
फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको चलचित्रलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । 

चलचित्रको सम्पादन पनि विक्रम स्वयंले गरेका हुन् । चलचित्रलाई काठमाडौँमा जीजीए ग्रुप र डीसीएन मिलेर वितरण गर्नेछन् भने काठमाडौँबाहिर एफडीले चलचित्रको वितरण गर्नेछन् ।