५१ बर्ष अघिको नबिन किशोरको ‘टिकुली ट्याक’ रमेश प्रसाईको स्वरमा सार्वजनिक

...

फागुन, काठमाडौँ । वरिष्ठ गायक तथा सर्जक नबिन किशोर राईले बि.स. २०२८ सालमा बनाएको ‘टिकुली ट्याक’बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक गरिएको छ । ५१ बर्षपछि पुनः रेकर्ड गरिएको गीतको आज (सोमबार) काठमाडौंमा भिडियो प्रिमियर गरियो । प्रसाईले स्वर भरेको गीतमा राईकै शब्द र संगीत छ ।

गीत निर्माणको काम भिडियो निर्देशक तथा कलाकार दीपक आचार्य (काकु)ले लिएका हुन् । गायक राईसँग अनुमति लिएर रमेश प्रसाईको स्वरमा पुनः रेकर्ड गरिएको निर्देशक आचार्यले जानकारी दिए । आफ्नो जीवनकालमा सयबढी गीत गाएका राईको ‘टिकुली ट्याक’ पहिलो गीत हो । कार्यक्रममा राईले आफू अहिले ८० बर्ष पुगेको र ३० बर्षअघि नै गीत गाउन छाडेको जानकारी दिए । उनले स्वास्थ्यले साथ नदिएपछि गीत गाउन छाडेको तर गीत सिर्जना अहिले पनि गरिरहेको बताए । 

IMG_9206.jpg

‘दीपक जीको टिम आउनुभयो, दाई हामीले यो गीत रेकर्ड गछौं, भिडियो बनाउँछौं भन्नुभयो । मलाई खुसी लाग्यो । आज यसरी सबैले सुन्न हेर्न मिल्ने बनाइदिनुभयो ।’ वरिष्ठ गायक राईले भने । ‘मिहिनत गरेर भिडियो पनि बनाउनुभएको छ । हेर्दा आनन्द लाग्यो ।’

राईले आफ्नो स्वरमा ‘टिकुली ट्याक’ त्यो समयमा नै रत्न रेकर्डिङ संस्थानको माध्यमबाट रेडियो नेपालमा रेकर्ड भएको तर अहिलेको इन्टरनेटका कुनैपनि माध्यममा नराखिएकाले दर्शक तथा स्रोताले सुन्न नपाएको जानकारी दिए । उनले रमेश प्रसाईंले आफ्नो गीतलाई न्याय दिएको भन्दै धन्यवाद ब्यक्त गरे । गीतलाई विपिन आचार्यले एरेन्ज गरेका हुन् ।

सन्चारकर्मि गोपिकृष्ण चापागाईंले सहजिकरण गरेको कार्यक्रममा भिडियोबाट हुने आम्दानीको केहि प्रतिशत १४ अनाथ बालबालिका आश्रीत अन्तर्दृष्टि नेपालका लागी जाने निर्देशक आचार्यले जानकारी गराए । उक्त संस्थालाई नन्दा सिंह र गीता बस्नेतले सन्चालन गर्दै आएका छन् । निर्देशक आचार्यले पुराना श्रृष्टाका गीत अहिलेको पुस्ताले सुन्नुपर्ने र त्यस्ता गीतबाट धेरै कुरा सिक्ने मौका मिल्ने बताए ।

IMG_9197.jpg

कार्यक्रममा अन्तर्दृष्टि नेपालका लागी नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काठमाडौंका अध्यक्ष राज कार्कीले ब्यक्तिगत रुपमा पाँच हजार रुपैंया सहयोग गरे । बागबजारमा सुटमाला सन्चालन गर्दै आएका कार्कीले निस्वार्थ भावनाले सहयोग गरेको जानकारी गराए । यस्तै गायक राईले आफ्नो ब्यक्तिगत तर्फबाट भन्दै पाँचहजार एकसय, यस्तै प्रोडक्सन कम्पनीको तर्फबाट दशहजार र गायक राईको बहिनीद्धय एसोधा राई र रिना राईको तर्फबाट चारहजार दुईसय नगद रकम हस्तान्तरण गरियो ।

भिडियोमा कलाकार हरिश निरौला, प्रियना आचार्य, पुस्पराज ओझा, तुलसी घिमिरे, गरिमा शर्माको अभिनय रहेको छ । सुबोल थापाको कोरियोग्राफि रहेको भिडियो पवन सुस्लििङले खिचेका हुन् । यस गीतको निर्माताको रुपमा सुस्मा गुरागाईँ रहेकी छिन् । भिडियो निर्देशनको पाटो दीपक आचार्यले सम्हालेका छन् । भिडियो संखुवासभा, तेह्रथुम र धनकुटामा छायांकन गरिएको हो ।

 

*सच्चाइएको