कलाकार संघका लागी मोहन निरौलाले गरे अध्यक्षको उम्मेदवारी घोषणा

...

चैत, काठमाडौँ । आगामी शनिबार चलचित्र कलाकार संघको कार्यसमिति चुनाव हुँदैछ । जसमा अध्यक्ष पदमा अहिलेसम्म दुईजनाले उम्मेदवारी घोषणा गरेका छन् । हिजो रेजिना उप्रेतीले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिन् भने आज मोहन निरौलाले आफ्नो उम्मेदवारी अध्यक्षपदमा भन्दै घोषणा गरेका छन् । उनले पनि प्यानल सहितको घोषणा गरेका हुन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले एजेण्डासहित प्यानलबाट उम्मेदवारी दिने अन्यको नाम समेत सार्वजनिक गरेका हुन् ।

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन् । महासचिवमा सविन श्रेष्ठ छन् । सचिवमा रामेश्वर बुर्लाकोटी छन् । कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छिन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् ।

सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् । कलाकार संघको भवन तथा कार्यालय व्यवस्थापन, सदस्यतासहित सामाजिक सुरक्षा, वृत्तिविकासलाई निरौलाले एजेण्डा बनाएका छन् ।

निरौला संघका वर्तमान उपाध्यक्ष तथा प्रवक्ता समेत हुन् ।