‘ज्याकीः आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक

...

चैत, काठमाडौँ । बैशाखको २१ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘ज्याकीः आई एम ट्वान्टी वान’को टिजर र फस्टलुक पोष्टरपछि पहिलो गीत सार्वजनिक गरिएको छ । ‘कथा’ बोलको गीत आईप्लेक्स मलमा रहेको वान सिनेमाज्मा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

सार्वजनिक कार्यक्रममा चलचित्रका मुख्य कलाकारद्धय धिरज मगर र जसिता गुरुङले गीतमा नृत्य समेत गरेका थिए । यो गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको स्वर, किरण थापाको शब्द, रोहित शाक्य र किरण थापाको संगीत छ ।

भिडियोमा मुख्य कलाकारद्धय धिरज र जसितालाई फिचरिङ गरिएको छ । उनीहरु गीतमा केही रोमान्टिक देखिएका छन् । यो फिल्ममा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन छ । गीतको भिडियोलाई द वाइल्ड रिपर्ज क्रुले कोरियोग्राफी गरेको हो । सोमनाथ खनाल र रेनशा राई रानाको संवाद रहेको चलचित्रलाई रेनशा राई रानाले निर्देशन गरेकी हुन् । चलचित्रलाई डान्स ड्रामा भनिएको छ ।

dhiraj and jassita.jpg

आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबरा छन् । चलचित्रमा रोहितको साथमा स्वप्निल शर्मा र कालिप्रसाद बास्कोटाको संगीत छ ।

कार्यक्रममा बोल्दै नायक धिरज मगरले आफ्नो लागि ‘ज्याकीः आई एम ट्वान्टी वान’ करिअरकै विशेष फिल्म भएको बताए । यस्तै, नायिका जसिता गुरुङले एउटा फिल्मका लागि ३ बर्ष समय दिएको र फिल्मको लागि गरेको मिहिनेत संझदा खुशी लाग्ने बताइन् ।

निर्देशक रेनशाले गाह्रो काममा नै आफूलाई हात हाल्न मन लाग्ने भन्दै ‘ज्याकीः आई एम ट्वान्टी वान’ निर्माण गर्नु चुनौतीको बिषय भएको बताइन् । तर, फिल्मको बिषयमा आफूले सधै फरक सोच्ने भएकाले डान्सको कथा जन्मिएको उनको भनाई छ ।