अनमोलको स्टाटसले ‘छड्के २’ का जापान वितरक क्रुद्ध, सामाजिक सञ्जालबाटै दिए यस्तो चेतावनी

...

चैत, काठमाडौँ । अभिनेता अनमोल केसी अभिनीत चलचित्र ‘छड्के २’ ले दर्शकको मन खास्सै जित्न सकेन । चलचित्र ‘छड्के २’को असफलता सँगै अनमोलले आफुलाई माया गर्ने दर्शकहरूलाई आफुले निराश बनाएको पनि आफ्नो फेसबुक स्टाटसमा लेखेका थिए ।

सामाजिक सञ्जालमा अनमोलको स्टाटस आएपछि सो चलचित्रका जापानका वितरक सचिन आचार्यले फेसबुक मार्फत आक्रोश व्यक्त गरेका छन् ।  जापानमा ‘छड्के २.०’ लाग्दालाग्दै अनमोलको स्टाटस आएपछि आफ्नो लगानी डुबेको उनले गुनासो गरेका छन् ।

माफी मागेर दर्शकलाई चलचित्र प्रति नकरात्मक बनाएको भन्दै आचार्य अनमोलमाथि खनिएका हुन् । उनले लेखेका छन्, ‘उता मेघा स्टारलाई सहानुभूति कमाउनु थियो  । पुरै आत्मसमर्पण गरिबक्स्यो । आफ्नो यता अझै शो हुँदै छ ।’ भनेर फिल्म हलको  फोटो पनि राखेका थिए ।

उनले अनमोललाई चेतावनी दिँदै ६ दिन अघि भनेका छन्, ‘मेरो शो राम्रो बनाउन १० सेकेन्डको भिडियो पठाउन भन्दा नमान्ने तिमीलाई मेरो शो बिगार्ने पनि कुनै अधिकार थिएन । याद गर्नु महँगो पर्छ यो हर्कत तिमीलाई ।’

जापानमा प्रदर्शनमा आउने नेपाली चलचित्रहरूमा सचिनले पहिलो पटक छड्के जापानमा वितरण गर्न लागेका थिए । सचिनले चलचित्रको राईट्स लिँदा नगद तिरेर निर्माता प्रशान्त गिरीसँग सम्झौता गरेको पनि बुझिएको छ ।

‘दर्शकले गाली गरून् या ताली मारून् त्यो मलाई मञ्जुर छ । तर मेरो शो नै बरबाद पार्ने गरी अनमोल केसीलगायत अन्य टिमले आफ्नो जुन भनाई दिएका छन्, त्यो खेदजनक छ । ख्याल होस म मुर्गा होइन र कदापि हुँदिन,’ उनले यो भनाइ पनि सामाजिक सन्जालमा थपेका छन् ।

चारैतिर चलचित्र आलोचित हुन थालेपछि अनमोल अझै निराश भएका छन् । यसबाट चलचित्र नहेरेका दर्शकहरूमा समेत चलचित्र राम्रो नभएको छाप बसिरहेको छ ।