बुद्ध नाटक महोत्सबमा ७ नाटक मञ्चन हुँदै

...

चैत, काठमाडौँ । तेश्रो बुद्ध नाटक महोत्सब २०२३ यही १३ चैतबाट सुरु हुने भएको छ । यो नाटक महोत्सबको लागि अहिले ७ वटा नाटकको मञ्चन कार्यशाला भईरहेको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राईका अनुसार यही १३ चैतबाट १७ चैतसम्म पाँच दिन बुद्ध नाटक महोत्सब नाचघरकै मेघा हलमा आयोजना हुने छ । 

महोत्सबमा प्रदर्शनी गरिने नाटकहरुमा माया थापाको निर्देशनमा चण्डालिका, प्रशान्त बगालेको निर्देशनमा थ्रि लाफिङ मँक, निकिता गुरुङको निर्देशनमा प्रतिबिम्ब, गीता थापाको निर्देशनमा पट्टाचार, वर्षा भण्डारीको निर्देशनमा पश्चाताप, सस्मिला मगरको निर्देशनमा अम्रपाली र बीरेन्द्र हमालको निर्देशनमा चक्षु रहेको छ । 

यी सबै नाटकहरुमा यसपटक सांस्कृतिक संस्थानका कलाकार तथा त्यहाँ अभिनय, नृत्य, गायन, बाद्यबादन सिकिरहेका विधार्थीहरुले अभिनय गर्ने भएका छन् । ‘महोत्सबको अन्तिम तयारी हुँदैछ । सबै नाटकको अभ्यास सम्पन्न भएको छ र कलाकारहरु आ आफ्नो नाटक प्रस्तुत गर्न आतुर छन् ।’ महाप्रबन्धक राईले भने ।

buddha natak mahoysab (1).jpg
सांस्कृतिक संस्थान र डबली थियटरको संयुक्त आयोजनामा यो नाटक महोत्सब हुँदैछ । महोत्सबको उदेश्यबारे आयोजक रँगकर्मी तथा डबली थिएटरका अध्यक्ष पुष्कर गुरुङले भने,‘गौतम बुद्ध आफैंमा शान्तिका दुत हुन र उनीमाथि नाटक मञ्चन गरेर समाजमा सकरात्मक सन्देश फैल्याउने उदेश्य सहित हो महोत्सब ४ वर्षअघिबाट सुरु गरिएको हो ।’ कोरोनाको कारण एक वर्ष रोकिए पनि त्यसपछि फेरी गत वर्षबाट यसलाई निरन्तर गर्दै आएको पनि उनले बताए । 

सो महोत्सबका लागि चयन गरिएको नाटकको बारेमा जानकारी दिँदै महोत्सब क्रियटिभ डिरेक्टर बीरेन्द्र हमालले भने,‘ हामीले यो महोत्सबको लागि केही महिना अघि १५ दिनको बुद्ध नाटक लेखन कार्यशाला आयोजना गरेका थियौं । सो कार्यशालामा अधिकाँस महिलाहरु र थोरै मात्र पुरुष रँगकमर्की सहभागी थिए ।’

त्यही नाटक लेखन कार्यशालामा लेखिएका करिब एक दर्जन नाटकबाट आफुहरुले ७ वटा नाटक यो महोत्सबको लागि चयन गरेको पनि हमालले बताए,‘हामीले यो महोत्सबमा निर्देशकहरुलाई निर्देशनमात्र नभएर सेट डिजाईन, लाईट डिजाईन र कस्ट्युम डिजाईनको जिम्मेवारी पनि दिएका छौं । आफैंले लेखेको नाटकलाई पूर्ण रुपमा मञ्चन गरेर दर्शकमाझ ल्याउँदा के के काम गर्नु पर्ने रहेछ भनेर यो सिक्ने अबसर पनि हो ।’