‘झरनाको चिसो पानी’को रिमेक सार्वजनिक, राजु लामा र मेलिनाको स्वर

...

चैत, काठमाडौँ । दुई दशक लामो इतिहास बोकेको गीत ‘झरनाको चिसो पानी’ को रिमेक भर्सन सार्वजनिक गरिएको छ । गीतका रचनाकार सुरेश अधिकारीकै स्वरमा सुन्दै आएका गीतका पारखीहरूले अहिले सार्वजनिक गीतमा राजु लामा र मेलिना राईको स्वर सुन्न सक्नेछन् । 

सगरमाथा डिजिटल प्रा.लिले गीतलाई रिमेक गरेको हो । जसमा गायक राजु लामा र गायिका मेलिना राईले स्वर दिएका छन् । गीतमा सङ्गीत संयोजन योगेस काजी शाहले गरेका छन् भने मिक्सिङ्ग ,रेकर्डिङ र मास्टरिङ्ग पवन विश्वकर्माले गरेका हुन् ।

गीतकार अधिकारीको शब्द रचनामा सजिएको यस गीतमा निरज कुमार सुनारको सङ्गीत रहेको थियो । कम्पनीले अहिले गीतमा एरेन्ज मात्रै बदलेर रिमेक गरिएको जानकारी दिएको छ । 

‘सबै गीतको रिमेक हुने भाग्य हुँदैन, यो उत्कृष्ट गीत भएकाले रिमेक गरिएको हो,’ कम्पनीका अध्यक्ष हिरा केसीले बताए । गीत रिमेक गर्न रचनाकार, सङ्गीतकार तथा गायक सबै पक्षसँग अनुमति पाएको उनको भनाइ छ । केही दिनअघि सार्वजनिक भएको यस गीतको अडियो अहिले युट्युबको ट्रेन्डिङमा रहेको छ । 

कुलेखानी आसपासका मनोरम दृश्यहरूलाई लिएर भिडियो बनाइएको कम्पनीका अध्यक्ष केसीले बताए । मौसम हिमाली निर्देशित यस भिडियोलाई अनिल के मानन्धरले निर्माण गरेका हुन् । भिडियोमा अभिनेता पुष्प खड्का र ललिना चिमरियाले अभिनय गरेका छन् । 

दुई दशक पुरानो सगरमाथा डिजिटलका एक सयभन्दा बढी लोकप्रिय गीतहरू बजारमा आइसकेका छन् । कम्पनीका तिमी बिनाको जीवन, तिमीले दिने माया, काली पारे दाइ, माया हो माया लगायतका विभिन्न गीतहरू लोकप्रिय छन्  ।