किन रोकियो सक्किगोनी ?

...

चैत, काठमाडौँ । लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनी’को प्रसारण रोकिएको दुई महिना पुगिसकेको छ । १०० औं भाग पुरा गरेपछि निर्माण हुन सकेन । दर्शकको मुख्य रोजाईमा पर्ने गरेको ‘सक्किगोनी’ एक्कासी किन रोकियो ? के अब आउँदैन ? अयो भने कहिले आउँला ? अहिले दर्शकले यस्ता प्रश्न ‘सक्किगोनी’ टिमलाई गरिरहेका छन् । 

‘सक्किगोनी’को पुरा टिम १०० औं भाग मनाउनका लागी सोलुखुम्बु पुगेको थियो । सोहि टिमसँग आर्टिष्ट खबरको टिमपनि सँगै थियो । १०० भाग पुरा भइसकेपछि अझ बिशेष तरिकाले दर्शकमाझ आउने निर्माण पक्षले जनाएको थियो तर सिरियलनै बन्द हुन पुग्यो ।

किन रोकियो प्रसारण ?
‘सक्किगोनी’ बन्द भएको मुख्य कारण यहि हो भन्न सकिदैन किनकी निर्माण टिमले आधिकारीक रुपमा कारण बताएको छैन । तर स्रोतको आधारमा भन्ने हो भने ‘सक्किगोनी’ र प्रसारण टेलिभिजनबिचको सम्झौता नमिलेर रोकिएको हो । अर्थात ‘सक्किगोनी’ प्रसारण भइरहेको हिमालय टेलिभिजन र निर्माण टिम जेपिटी क्रिएसनबिचको आर्थिक पाटो नमिल्दा निर्माण नै रोकिएको छ । बुझिएअनुसार जेपिटी क्रिएसनले सम्झौता बिपरीत युट्युवमा अपलोड गर्ने इपिसोडमा टेलिभिजनमा भन्दा फरक आफ्ना बिज्ञापन प्रसारण गर्नेगरेको थियो । त्यसैकारण पनि टेलिभिजनले प्रसारण रोकेको हो । 

jigri-pade-photo.jpeg

अब कहिले आउँछ ? 
‘सक्किगोनी’को प्रसारण रोकिएपछि धेरैको प्रश्न छ अब कहिले आउँछ ? बिहीबार अनामनगरमा भेटिएका ‘सक्किगोनी’का कलाकार कमलमणी नेपालले दर्शकको प्रश्नले हैरान भएको बताए । उनले आफू जहाँ गएपनि दर्शकले कहिले आउँछ भन्ने प्रश्न गर्ने गरेको र आफूले उत्तर दिन नसकेको बताउँछन् । ‘म जहाँ जहाँ पुग्छु त्यहाँ दर्शकले सक्किगोनी कहिले आउँछ भन्छन् तर मलाई नै थाहा छैन । निर्माण टिमले हामीलाई नै भनेको छैन, के कारणले रोकियो र कहिले आउँछ ।’ नेपालले आर्टिष्ट खबरसँग भने । ‘हामी कलाकार मात्र हौं, निर्माण टिमले कि यतिगतेदेखी आउँछ भनिदिए हुन्थ्यो, कि आउँदैन भनिदिए हुन्थ्यो । दर्शकको प्रश्न आइरहेका छन् ।’ 

यसरी नै अहिले कलाकारहरुले दर्शकका प्रश्नको सामना गरिरहेका छन् । तर कलाकारसँग सहि उत्तर छैन । निर्माण टिममध्येका अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) भने यो बिषयमा बोल्न चाहदैनन् । कहिले आउँछ भन्ने प्रश्नमा केहिसमयमा आउँछ भन्ने रेडिमेट जवाफ दुबैबाट आउँछ । स्रोतका अनुसार केहि सातामै हिमालय टेलिभिजनसँग पुनः फरक सम्झौता हुने र प्रसारणका लागी सिरियलको निर्माणकाम सुरु हुनेछ । टेलिभिजन भने परिवर्तन हुनेछैन ।