कात्तिक ३ गतेलाई तोकियो ‘परदेशी २’को प्रदर्शन मिति

...

चैत, काठमाडौँ । चलचित्र ‘परदेशी २’को प्रदर्शन मिति सरेको सरेई छ । यस वर्षको दशैंलाई लक्षित गर्दै असोज १४ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकिएको थियो । त्यो मितिबाट पनि सरेर चलचित्र फागुन ५ मा पुग्यो । अब फेरी प्रदर्शन मिति सरेर कात्तिक ३ मा पुगेको छ । शनिबार निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । अब चलचित्रको प्रदर्शन मिति नसारिने बुझिएको छ । 

‘परदेशी २’ मा दशैं बिशेष कथा छ त्यसैले पनि निर्माण टिमले दशैं नै कुर्नु परेको बुझिएको छ । कात्तिक ४ गते (फूलपाती)बाट दशैं विदा सुरु हुने भएकाले ‘परदेशी २’को प्रदर्शन मिति कात्तिक ३ गतेलाई घोषणा गरिएको हो । यही मितिमा अहिले छायांकन भइरहेको चलचित्र  ‘पशुपति प्रसाद २ः भष्मे डन’ पनि प्रदर्शनमा आउने तयारीमा छ । 
 
चलचित्र ‘परदेशी २’ नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्र परदेशी सफल चलचित्र हो । त्यसै चलचित्रको सिक्वेलको रुपमा रहेको यो चलचित्रलाई बिशेष रुपमा हेरिएको छ । चलचित्रमा प्रकाश सपुत, नीर शाह, रमा थपलिया, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, सुशील पोखरेल, सविन बास्तोला, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको अभिनय छ । गायक सपूतले यही चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका हुन् । राजेश बंशल र नारायण रायमाझीले फिल्मको निर्माण गरेका हुन् ।

नारायण इन्टरनेशनलको प्रस्तुतिमा बनेको चलचित्रको कथा रमेश बिजीले लेखेका हुन् । बि.बि. अनुरागीको संगीत रहेको चलचित्रमा रामजी लामिछानेसँगै गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । नेपाल र अमेरिकामा छायांकन भएको फिल्मको वितरण उपत्यकामा डिसीएन र उपत्यकामाबाहिर एफडी कम्पनीले गर्नेछ ।