‘जारी’ अमेरिका, अस्ट्रेलियासँगै बिभिन्न मुलुकमा प्रदर्शन हुने

...

चैत, काठमाडौँ । आउँदो नयाँ बर्ष (बैशाख १)बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जारी’ नेपाल लगायत बिभिन्न देशमा प्रदर्शन हुने तयारीमा छ । निर्माण कम्पनी बाँसुरी फिल्मस्का अनुसार चलचित्रको अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा प्रदर्शन हुने पक्का भइसकेको छ । 

नेपाली चलचित्रको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि भएको निर्माता रामबाबु गुरुङले बताएका छन् । उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो साता सिनेमा रिलिज हुनेछ । क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुने पक्का भइसकेको छ ।

निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरु दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन् । अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत चलचित्रले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए । ‘जारी’ प्रदर्शन अगावै निर्मातालाई नाफामा लैजाने चलचित्र बनेको छ ।

पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमाथी चलचित्र निर्माण भएको छ । गत साता रिलिज भएको ट्रेलरबाट प्राप्त सकारात्मक प्रतिक्रियाले सिनेमाको विदेश व्यापारमा फाइदा मिलेको निर्माण टिमको बुझाई छ ।

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुस्कर गुरुङ, कमलमणि नेपाल, उपसंग्बा नेम्बाङ, सीताकुमारी तुम्बापो, पन्थक ठुले लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन छ । सुरेश नियोङ लिम्बुको कन्सेप्टमा निर्माण भएको चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, शैलेन्द्र डी कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

बाँसुरी फिल्मस्को प्रस्तुती र कबड्डी फिल्मस्को सहकार्य निर्माण भएको चलचित्रका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । चलचित्रमा शृजना निङलेकु, मनोरथ पोखरेल, अल्बिन लिम्बु, पीटर गुरुङ, देवयानी राई र क्षितिज लिम्बुको सहनिर्माताको रुपमा रहेका छन् ।